असार ७, सूर्य ग्रहण लागेको दिन

असार ७, सूर्य ग्रहण लागेको दिन

२०७७ असार ७ गते आइतबार कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट स्पर्श गरेको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुँदैछ । यसको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।  नेपालका विभिन्न क्षेत्रबाट यो ग्रहणको अवलोकन गर्न मिल्ने भए पनि बादल लागेकोले राजधानी काठमाडौंबाट भने धेरै समय हेर्न सकिएन ।

यो वलय सूर्यग्रहण भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखियो । सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । 

वरिष्ठ खगोलविद् एवं वाल्मिक विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यको भनाइअनुसार काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखियो । नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरूको भनाइ रह्यो ।

काठमाडौंस्थित तक्षशिला एष्ट्रोनोमिकल क्लव तथा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रत्यक्ष तथा अनलाइनमार्फत् ग्रहण अवलोकन गर्ने व्यवस्था मिलाएका थिए ।

यो ग्रहण इथियोपिया, दक्षिणी सुडान, कङ्गो, यमन, ओमान, मस्कट, पाकिस्तान, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देख्न सकिएको थियो ।

ग्रहणको सुतक सुरू भएकोले शास्त्रीय मान्यताअनुसार अघिल्लो राति १०:५० बजेदेखि नै बालबालिका, वृद्धवृद्धा र अशक्त तथा बिरामी बाहेकलाई भोजन निषेध भनिएको थियो ।

ग्रहण लागेको हेर्दा कतिलार्इ राम्रो फल प्राप्ति हुने भनिए पनि कतिपय राशीका मान्छेलार्इ कष्ट हुने ज्योतिषशास्त्रीहरू बताउँछन् । ग्रहणको समयमा सूर्यबाट पराबैजनी किरणहरू निस्किने हुनाले नाङ्गो आँखाले हेर्दा आँखामा क्षति पुग्नसक्ने भय रहने वैज्ञानिकहरूको भनाइ छ ।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर नगरे पनि सूर्यग्रहण हेर्दा भने अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । यसले सदाका लागि दृष्टि समेत गुम्नसक्ने खतरा औंल्याइन्छ । त्यसैले सूर्यग्रहण नाङ्गो आँखाले कहिल्यै पनि हेर्नु हुँदैन । हेर्नै परे विशेष चस्माको प्रयोग गरी अत्यन्त सावधानीका साथ हेर्नु पर्दछ । सूर्यग्रहण हेर्ने सबैभन्दा सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु हो । पानीलगायतमा यसको छायाँ सजिलै हेर्न सकिन्छ ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्दा शुभ हुने भनिन्छ ।

ग्रहणका बेला तीर्थस्थल, नदी, ताल, तलाउ, पोखरीमा स्नान गर्ने र सूर्यको लागि प्राथना गर्ने गरिन्छ ।

असार ७ गतेको सूर्य ग्रहण : कुन राशिलाई कस्तो ?

  • मेष : श्रीप्राप्ति
  • ​वृष : क्षति
  • मिथुन : घात
  • कर्कट : व्यय
  • सिंह : लाभ
  • कन्या : सुखम्
  • तुला : माननाश 
  • वृश्चिक : कष्ट
  • धनु : स्त्रीपीडा
  • मकर : सौख्यम्
  • कुम्भ : चिन्ता 
  • मीन व्यथा

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००