दशैं कथा

गाउँघरमा दशैंका अद्भूत भोगाइ छन्, कथा छन् । पोयो खोल्यो भने हतेउरीजस्तै तानिरहन पर्ने, हत्तपत्त नसकिने । दशैं नेपालीहरूको ठूलो चाड हो । दशैंको आगमनको चहलपहल र कथा नै बडो मार्मिक र रोचक पनि छ । दशैं भनेको अधिकांश नेपालीको लागि राम्रो लाउने र मिठो खाने चाडको रूपमा हेरिन्छ । ऋणं कृत्वा घृतम पिवेत् या ऋण काढेरै भएनि घ्यू खाने चलन दशैंले स्थापित गरेको छ । पिताजीले किनेका खागी या टेरिकटन, पुलिस्टरका कपडा दर्जी दार्इले प्रत्येक घरमा पालो मिलाएर दिनभर सिलाउने गर्नुहुन्थ्यो । दशैंमा त्यही लाउने पछि विद्यालय जाँदा पनि हुन्छ भनेर कतिपयको स्कुल ड्रेस हाल्ने चलन थियो । कपडा सिउने दिन घरमा खुशी नै अर्कै । नयाँ कपडाको एक किसिमको बासनाले हामी पुलकित हुन्थ्यौं । दर्जी दार्इले कपडा छेक्दा यति मख्ख परिन्थ्यो, यति फुरूक्क भइन्थ्ये त्यो बालापनको खुशी शब्दमा वर्णन गर्न कठिन छ । जुत्ता हदै राम्रो पाइयो भने गम्बुठ (पानी बूठ) सम्म भेटिन्थ्यो । होइन भने हात्तीछाप चप्पल । त्याे पड्काउँदा हिले दशैं भयो भने नयाँ लुगा सखाप । अर्को तनाव ।

ठाउँ ठाउँमा पिङ थाप्न ढुंग्रे, चोय बाँसका लिंगा काटेर फलाट, खस्रु या अन्य बलियो काठको हरिस तयार हुन्थ्यो । मच्चिन सजिलोका कारण पिङको लागि डाँडो उपयुक्त हुन्छ । दायाँबायाँ खाँद या भिर पनि हुनसक्छ । लठ्ठा बाट्न र पिङ थाप्न विशेष ज्ञान नभए सिका लाग्ने समस्या (पिङ खेल्द लिंगामा ठोक्किने) या डोरीसँगै जिप्टिने खतरा हुन्छ । पिङ कफल्ला हुँदा केही मान्छे डोरीसँगै सिधै खाँदमा पछारिएका उदाहरण पनि धेरै छन् । वरिपरी झाडी भए ठाउँमा मान्छे झाडीमा अड्किएर हराउँदा लाइट (टर्च) बालेर खोज्नुपर्ने अवस्था नि आइलागेका छन् । त्यसैले यसमा विशेष ज्ञान चाहिन्छ । यो लिंगेपिङको कथा हो । अर्को फनफनी घुमाउने रोटेपिङ अहिले दूर्लभ बनिसकेको छ । यसमा बीचमा मियो राखेर त्यसमा प्वाल पारी तलमाथि मच्चिएर वृत्ताकार कक्षमा घुम्नसक्ने संयन्त्र जडान गरिएको हुन्छ । यसमा ५/६ जना मान्छे (पिङको क्षमता अनुसार) बसेर रिंगटा चल्नेगरी घुम्ने हो । म सानोमा मावला जाँदा ओखलढुंगातिर धेरै यस्ता पिङ थापेको देख्थें र रहरले चढ्थेँ । यो बनाउन काठकर्मी नै चाहिन्छ त्यसकारण हराउँदै गयो ।

दशैंको मिठो खाने पक्षसँग दूर्गम ठाउँहरूमा त झन रोचक प्रसंग जोडिएका छन् । मिठो भन्ने बित्तिको मासु र चामलको भात भन्ने बुझिन्थ्यो । घरमा खसीबाख्रा पालेको हुँने हुँदा मासु घरमै हुन्थ्यो । तर कतिपय ठाउँमा चामलको भात दशैंमा मात्रै खान पाउने अवस्था थियो । धेरै समय बितेकै छैन तथा अझै कर्णाली लगायत विकट ठाउँमा यो अवस्था कायमै छ कि मान्छेहरू प्रमुख जिल्ला अधिकारी सिडिओबाट चामलको कुपन पाउन रातभर लाइन बस्दथे । सिडिओले श्री ५ को सरकारको छाप लागेको २ केजी चामल/५ केजी चामल (पहुँच या स्टक भएको आधारमा) को कुपन दिन्थे । त्यो लिएर खाद्य संस्थानको गोदाममा अर्को लाइन । पैसा तिरेर २ केजी चामल लिन पनि दिनभर लाइन बस्नुपर्थ्यो । चिल्सा लागेका र ढुँडी परेका चामल लिएर घर फर्कँदा झमक्कै हुन्थ्यो । यसैले दशैंका टिका मुछ्नेदेखि मिठो खानेसम्मका रहर पूरा गर्न लोक बाध्य हुन्थ्यो । केसम्म सुनिएकाे छ भने निधारमा टाँसेकाे चामल केटाकेटीले खालान् भनेर पछाडि हात बाँधेर टीका लाउनेसम्म हुन्थ्याे रे कतै कतै त । एक दुर्इ प्याकेट आयो अनि भानु नुनको लागि समेत त्यस्तै जटिलता थियो ।

गाउँघरमा निर्वाहमुखी कृषिसँगै पशुपालन पनि मुख्य काम हुन्थ्यो । गाइबस्तु एवं कुखुरा, बाख्रा पाल्ने धेरै चलन हुन्छ । चरण र घाँसको लागि खर्कहरूमा टाढाटाढासम्म गोठ लैजाने गरिन्छ । दशैंको बेला घरपायक पर्ने ठाउँमा गोठ ल्याउने गरिन्छ । विजया दशमीको दिन पाउना पाछा आउने, टीका लाउन गाउँ घुम्नुपर्ने हुँदा त्यस दिन बस्तु बाँधेरै राख्ने गरिन्छ । (अरूबेला फुकाइन्थ्यो नै) त्यसको लागि अगाडि नै घाँस, सोत्तर, पत्करको व्यवस्था गर्नुपदथ्यो । अनिमात्र टीका लाउन हिँड्न पाइन्थ्यो ।

परदेशबाट जानेहरू विशेष गरी लाहुरे भरिया लगाएर डोकोमा ट्यांका लैजान्थे । दायाँ हातमा ठूलो क्यास्केट प्लेयर घन्काउँदै गाउँ पस्दाको सान कम्ती थियो त ? केही लाहुर हुनेहरूले फोटो खिच्न ल्याउने यासिका क्यामेर (रिल भएको) मा मान्छेको धुइरो लाग्दथ्यो । तिनीहरूले क्यामेरा देखाउन सबै बटुलेर रेडी भन्ने अनि फ्ल्यास बाल्थे । तर रिल सकिने लाेभले फोटाे भने खिच्दा रहेनछन् । यो अचम्मको जिनिस थियो अाकर्षणको केन्द्र हुन्थ्याे । कोडाक या कोन्काको रिल ११० देखि १२० रूपैयां पर्दथ्यो । मिलाएर राख्न जानिएन भने या खिचिसकेपछि बेर्न मिलेन भने खत्तम । अहिले क्लिक गरेजस्तो कहाँ पाउनु ।

पढ्न टाढा टाढा जाने चलन निकै कम थियो । केटा मान्छे परदेशिएको अवस्थामा दशैंमा घर फिर्न नपाउँदा त्यसको १ महिना अघिदेखि नै हुलाकमार्फत पत्र पठाउँथे । त्यसमा भावनाका फुलबुट्टा कुँदिएका हुन्थे । पूजनीय बुबा आमा शाष्टांग दण्डवत, श्रीमती तथा छोराछोरीमा आशिर्वाद, अरूमा माया । पत्रको व्यहोरा र भावना लम्बेतान हुन्थे पोखेर के सकिनु । अन्त्यमा लेख्थे – लैजा चरी हावा सरी, यो पत्रको जवाफ चाँडै आउने गरी । यो पढेर बाबु अामा र परिवारजन निकै भावुक र दुःखी बन्दथे ।

अहिले कथा बद्लिएको छ । वैदेशिक रोजगारीले धेरैको आर्थिक अवस्थामा सुधार पनि आएको छ । दशैं मनाउने परिपाटी नै फेरिएको छ । बिस्तारै मान्छे भर्चुअल भएको छ । ति दिनहरू, रमाइलो क्षणहरू कथा बन्दै गएका छन् । थप संगालोमा संग्रहित गर्दै गर्नेछु... अहिलेलाइ छुटाैं, दसैंको मंगलमय शुभकामना !

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००