‘वर्षारानी’

 

जब सम्साँझै डरलाग्दो स्वरमा गडगडायौ,
मलाई सर्लक्कै गाँसमै निलौंला झैं गरेर आयौ ।
घामपानी खेपेर अस्थिपञ्जर भएको मूढोलाई,
भो पर्दैन चुट्न बिनासित्ति किन तर्सायौ ?

महाभारतको भयानक युद्ध चित्कार जस्ता,
मेरै छरछिमेकमा कर्कष आवाजहरू चल्दछन् ।
अस्थायी नशा बिछाएर विद्युतीय झट्का नफाल,
हुनेहरू धर्तीलाई सताउँछन्, गरिबहरू जल्दछन् ।

भो छिनो र हम्मरहरू ठाउँठाउँ छोड्नु नि परेन,
चेतनशीलहरू समाउँदैनन्, किन दियो जगाउँछौ ।
जो तयार छन् तिनका हातगोडा ठेलाम्मे छन्,
चिरा परेका पैतालामा राप अझ किन लगाउँछौ?

भो गर्जेर खुबै, रूख बिरूवाहरू चिर्नु पर्दैन अब,
खजुराहरू बाहिर बसेरै अत्याचार गर्न सिकिसके ।
अहिले रूखका धोद्राहरूमा झ्याउसम्म पलाउँदैन,
थाहा छ? ऐजेरूका बीउ नि कौडीमा बिकिसके ।

सामर्थ्य फगत जाला, किन हिर्काउँछौ बज्र र चिर्छौ
गरिबहरू यसै चिलबिल छन् त, थप किन पिर्छौ ?
एकान्तमा रोऊ, जहाँ संवेदनाका आँसु बाफिउन्,
छाप्रामा कोमल तोतेहरू छन्, अझ डुबाउन छिर्छौ?

तिम्लाई थाहा छैन? मेरो घरछेउ अझै फड्के छैन,
पढेर एक्लै घर फर्किने बच्चाहरूलाई निर्मम नचुट ।
अजङ्गको खहरे भेलमा हेल्याउँदै निमुखाहरूलाई निलेर,
तारा हुन् चम्किन्छन्, अवोधको बाँच्ने अधिकार नलुट ।

यहाँ भष्म हुँदै गरेका चित्ताहरूमा आँसु पोखेर हुन्न,
शवहरूमाथि अन्याय भो ! सक्छौ छानो बनेर खस ।
सन्तानको निष्ठुरताले पीडा पग्लेर भरिएको पोखरीमा,
आमालार्इ बेदनाको तरङ्ग फैल्याउन तप्ल्याक्क नखस ।

चम्कन्छौ भनेँ झुपडीमा अभावको गर्जो बनेर चम्क,
छम्कन्छौ अन्यायको खरानीमा न्यायका थोपा छम्क ।
सम्पन्नताको तिर्खामा अभावको ओस चाट्नेहरू छन्,
ती काकाकुलीन बस्तीमा रित्तो गाग्रो भर्नतिर लम्क ।

डुबिरहेका बस्तीहरूमा घाम बनेर खस्छौ खस,
भोका, नाङ्गा बस्तीहरूमा गाँस बनेर खस्छौ खस ।
भो बिन्ति छ, सन्नाटा छाउँदो रातमा घरघर नपस,
मेरो देशका टिठलाग्दा अनुहारहरू पुलुक्क हेरेर,
हे प्रकृति !
अब तिमी थचक्कै बस (२)

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००