बाँसको ढुङ्ग्रीमा दलिनमा सिउरिएको कागज
पुरोहितले दिएको जन्ममितिको प्रमाण थियो ।
तीन दशक बिते पछि सम्झना खोतल्दा,
राले अनि काने टोपीको फुर्को सँगै भेटियो ।

पाखैभरी चुथ्रो, ऐसेलु र मलिणो पाकेर रातै,
खाएको सम्झिन्छु, पतपत धुवाँउछ आँतै ।
खोपी र डन्डिबियो खेल्दाका डोबिल्काहरूमा,
माया पोखिएर उम्रिएछन् सम्झना खातखातै ।

वर्षाले दलिन झर्यो, पाली अनि टुँडाल खस्यो
मौरीको घार थचक्कै बस्यो, अनिकाल पस्यो ।
विदेश पठाउन काढेको ऋणले सम्पत्ति फस्यो,
हेर छोरा बाआमाको जीवनमा आँठे नै पस्यो ।

खँडिया खद्रङ्ग थोत्रामोत्रा, तैनि दुःखमै रम्दछौ
खँडेउली हुर्रहुर्र तान्छम, पयर चल्दैन जम्दछौ ।
खतेर्नु यत्रतत्र खातखात, छाप्रोले दुःख ओतेन,
चङ्खु मुजिए झैं उजाडियौं, आँखाले रङ्ग पोतेन ।

जब औंसीमा भर्थरीको मन्त्र अनि बराँठ चल्यो
चैते धूपझैं सल्कियो मन, यादहरू हुर्हुर्ती बल्यो ।
रातहरू वर्षझैं लाग्यो, कोल्टो फेर्दै छक्काल गरायो,
दशा कट्थ्यो होला, सिधा बनाउने जाँगर हरायो ।

तस्वीर हेरेर उनी भिमलाइन,
गहभरी आँसु पारेर पिल्पिलाइन,
फुकाउँदै सम्झनाका पोयाहरू,
दाना सकिएछन्, रहे खोयाहरू,
तिमी फर्कन्नौं अझै घर सम्झेर?
तिमी परदेश म घरदेश,
बल्झिन्छ बिरन्तरी टन्को,
हे भगवान ! चाँडो सुकाउ घाउ,
बिसेक होस् तापको रन्को ।
दुःखका घँसेटाहरू मैमाथि थुप्रिउन,
मै सल्किन्छु अझै बरू,
लग्दैन माथि भनेको बेला,
आँखा ओभाउँदैन कसो गरूँ ।
अझै नि आँखा ओछ्याउँदैछु,
गिन्ति गर्दै लाखौं लाखमा ।
लाग्छ प्राण जाओस घुरूक्क,
सन्तान तिम्रै काखमा !

हे सन्तान !
समुद्र गएर अँजुलीमा पानी अचाउनु,
मेरो आँसुको भेल हो माया भए बँचाउनु
चन्द्रिकामा टिल्पिलाउँदो सीकर,
म टल्किनेछु त्यहाँ, नमाने है फिकर ।
मकैको पोल्टो छामेर पुनः रोइन,
इश्वरको पुकार गरी ढुंगो छोइन,
मनको मैलो आँसुले धोइन,
आमा अझै रोइन,
आमा अझै रोइन ।

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००