‘म’ बाँचेको प्रमाण…

 

काललाई आग्लो लाएर अलमल्याउन खोज्दा,
यो समाज हत्तपत्त दैलै फुटाउन तम्सिन्छ ।
किन हो ? हठात् फिँजारेर नङ्ग्रा र दन्त, 
नरभक्षीहरू कुरिरहेका छन् कसैको अन्त ।

मन चुहिएर खस्ने श्रद्वाका तप्केनीहरू,
बिडम्बनाको लप्काले क्षणभङ्गुर लुकाइदिन्छ ।
म गम खान्छु, तैनि कोही अजम्बरी छैन यहाँ,
खडेरीले किन हृदयका मुहानहरू सुकाइदिन्छ ?

म धेरैपटक बाँचिसकेँ, पटक पटक मरिसकेँ,
कालले लैजाँदैन उसै, बरू अनिकालमा परिसकेँ ।
धेरै ऋण चुकाउनु भएर पो हो कि यस धर्ती माताको,
डिलमै पुगिसकेपछि पनि पटक पटक झरिसकेँ ।

मलार्इ घाटमा कोलाहाल गर्दै आगो लगाइयो
धुकधुकी बाँकी रहेछ, चित्ताबाट पुनः जगाइयो,
आकाशबाट हुत्याइदिन जब यमराजले ढोका खोल्यो,
ओहो ! यस्तो पनि हुन्छ? त्यतिखेर पो समाज बोल्यो ।

कमाउन सक्दा, जिउँदो छँदा मलाई चाट्नेहरू
कालको मुखअघि तेर्सिएपछि, व्यस्त भन्दै ढाँट्नेहरू,
तातो नसेलाउन्जेल सम्म् त पर्खिने भएन विवेक,
मूढो भएपछि भूत बनेर तर्साउँछ भन्दैछन् उदेक ।

म बाँचेको समाज यतिसम्म क्रुर छ,
यहाँ कुप्रथा र परम्पराहरूको मलजल गर्न
जिउँदाहरूलाई नै मट्टी छर्केर जलाइन्छ ।
चित्कार र पिडाको भुङ्ग्रो ताप्छन् बरू,
आँखा सेक्न त्यसैको आरती चलाइन्छ ।

आजभोलि मान्छे,
पैसा कुर्छ तर,
समय कुर्दैन,
राति घुर्दैन,
भेट जुर्दैन ।
सगरमाथा पुगेर पनि धर्तीमै टेक्न त पर्छ,
हाम्रो क्षणिक भ्रमले सृष्टिलाई नास गर्छ ?

मृत्यु साश्वत सत्य हो, नहतारिनु कहिल्यै साथी…
भोग पुगेपछि यमदूतहरूले उठाई लग्नेछन् माथि । (२)

 

 

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००