पल्लो घरबाट बाँसमती मगमगाउँदा,
मेरो कुटीमा मोटा चामलका सिताहरू पाक्छन् ।
लोकमा भोजभतेर र चुस्कीका बान्कीहरू चल्दा,
मेरो झुपडीका जिव्राहरू मुख मिठ्याएर थाक्छन् ।
मै भाछु लोकको नजरमा नामुद घुस्याहा हजुर !
दुनियाँ सूचना प्रविधिको युगमा रमाउँदा,
मैले किन्ने र बिल तिर्ने हैसियत समेत राख्दिँन ।
उही जुगौं अघिको नोकिया घुमन्ते बोक्छु,
अरू नयाँनयाँले अघाउँदा म थोत्रोले थाक्दिन ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
अरूले लुइस, जारा र हर्मेस लगाउँदा,
थोत्रामोत्रा नै मेरा बालबच्चाहरूको प्रिय छ ।
लाख लाखका पलङ र डस्नाहरूको न्यानोपन,
सुकुल र गुन्द्रीहरूसामु त्यसैत्यसै निरीह छ ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
रातारात मालामाल हुनेहरूका छोराछोरी,
यूरोप र अमेरिकामा डाक्टर, इन्जिनियर बन्दै गर्दा ।
सार्वजनिक स्कुलमा कखरा सिकेका मेरा केटाकेटी,
अझ पनि यही माटोमा कुटोकोदालो गर्दैछन् पर्दा ।
तैनि मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
हजार इच्छा मारी घर चलाउँदाका पिडा,
मलिन भाव सङ्गिनीका आँखाहरू हुँदै झरेको देख्छु ।
पढाउँदा लागेको ऋण अझै चुक्ता गर्न नसकेर,
बाआमाको अनुहार खिन्नताले थप मुजा परेको देख्छु ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
साथी सङ्गीले विदेश पसेर मनग्य आर्जन गरी,
बङ्गला ठड्याएर आरामले दिन कटाएको देख्छु ।
म अझै झुप्रोको लागि मेरा बाकै मुख ताक्दै,
चुपचाप लाग्छु मुकामतिर, हत्केलाले सूर्य छेक्छु ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
राज्यले मलाई जिम्मेवारी थमाउँदा,
बाआमाका आँसु अनि दुःखहरूसमेत भुलियो ।
सरकारी नूनपानी मातृभूमिको ऋण सम्झेर,
जिम्मेवारी निभाउँन हात्तीछाप चप्पलमै डुलियो ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
हजारौंमध्ये कसैले आफ्नो दुनो सोझ्याउँदा,
हिलो छ्यापिन्छ, बदनामीबग्रेल्ती छिरलिन्छन् ।
समाज नै रहेछ दागी, समाज नै भवसागर रोगी,
अनाकमा औंलो ठड्याउँदा सोझासाझा पिरलिन्छन् ।
मै लोकको नजरमा नामुद घुस्याहा हजुर !
कस्तो दशा मैमाथि,
सन्ततिलाई उसै एक्कासि उपर्तलीले समायो,
नजिक सुबिधा थियो, महँगीले थरर कमायो
उही सिभिल, बीर, टिचिङ दौडाउनु न थियो,
दैव मैमाथि खनियो,घुरूक्क प्राणपखेरू लियो ।
तैनि मै लोकमा नामुद घुस्याहा हजुर !
खबरदार !
मेरो योगदानलाई अवमूल्यन गर्दै,
मानमर्दन गरेर देश बन्छ भनेँ,
तिमी अँगाल, म छोड्छु ।
तिमी सम्हाल, म तोड्छु ।
तिमी सपार म म फोड्छु ।
तिमी अघि सर देश बनाउन ।
भैगो ! म यात्रा अन्यत्रै मोड्छु । (२)
सम्पूर्ण निष्ठावान र निम्छरा राष्ट्रसेवकहरूप्रति समर्पित ।
बैशाख २२ गते, २०७५
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्