चीनमा अवस्थित स्टोन फरेस्ट (शिलिन) पर्यटकहरूको लागि अत्यन्त आकर्षक र मनमोहक गन्तव्य स्थानमध्येमा पर्ने एक महत्वपूर्ण सम्पदा हो । युनान प्रान्तको कुनमिङ कुजिङबाट १२६ किलोमिटर दक्षिणपूर्वमा पर्ने लुनान यू अटोनोमस कन्ट्रीमा अवस्थित यस ढुङ्गाको जङ्गललाई "विश्वको पहिलो आश्चर्य" को रूपमा समेत लिने गरिन्छ । मौसमी कारणले चुनढुङ्गामा हुने परिवर्तनका कारण बनेका यी संरचनाहरू २७ करोड वर्षभन्दा पुरानो मानिन्छ ।
उक्त स्थानलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको छ । समुद्र सतहबाट १,६२५ देखि १९०० मिटरसम्म उचाईमा अवस्थित यो रमणीय स्थान कुनमिङसँग राजमार्ग र रेलवे दुवैबाट जोडिएकोले सजिलो र पहुँचयोग्य रहेको छ ।
यो क्षेत्रमा रहेका ढुङ्गाहरू अद्भूत किसिमका छन् । ५ देखि ३० मिटरसम्मको उचाईमा फैलिएका ढुङ्गाहरूको विशेष प्रकारको कास्ट ल्याण्डफार्म जङ्गलको रूपमा २६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो क्षेत्रलाई चीन सरकारले अत्यन्त महत्त्वका साथ संरक्षण गरेको देखिन्छ । तथापि यस क्षेत्रको ८० हेक्टर क्षेत्रमात्र पर्यटक तथा आगन्तुकहरूको लागि खुला छ ।
त्यहाँ स्टलाग्माइट, स्ट्यालेक्टाइट, ढुङ्गाका स्तम्भहरू र करिडोरहरू, पाँच भूमिगत नदीहरू, तालहरू, पोखरीहरू र झरनाहरूले भरिएका असंख्य गुफाहरू छन् । यसका साथै धेरै जलासय एवम् पोखरीहरू समेत रहेका छन् ।
रमाइलो हावापानी रहेको यो ठाउँमा ४ सय बढी प्रकारका फूलहरूले सुन्दरता थपेको छ । समग्र क्षेत्रलाई ग्रेटर स्टोन फरेस्ट, लेसर स्टोन फरेस्ट, ओटर स्टोन फरेस्ट, भूमिगत स्टोन फरेस्ट, स्टोन फरेस्ट लेकजस्ता नामहरूसहित विभाजन गरिएको छ ।
ठूला र साना ढुङ्गाको वन, नाइगु स्टोन वन, ठूला र साना झियुन गुफाहरू, क्विङफेङ गुफा, लङ लेक, मुन लेक, फेयरी लेक र फेइलोङ फल्स जस्ता क्षेत्र यहाँका सबैभन्दा आकर्षक, रमणीय र अचम्मका स्थलहरू हुन् ।
स्टोन फरेस्टमा ढुङ्गाको जंगलमा सीधा उभिएका असंख्य चट्टानहरू र राजसी चुचुराहरू पनि छन् । ढुङ्गाहरू जनावर, बोटबिरुवा र मानव आकृतिहरू पनि पाउन सकिन्छ। चट्टानहरूमा दस हजार वर्षको च्याउ (१० मिटर अग्लो), आमा र छोरा, हात्तीमा सवार ऊँट, अवलोकितेश्वर चट्टान, बुद्ध ढुङ्गा, चन्द्रमा हेरेको गैँडा र पानीबाट आरोहण गर्ने सुन्दर युवती जस्ता अविस्मरणीय नामहरू छन् ।
टाढाबाट साँच्चिकै घना जङ्गलजस्तो देखिने भए पनि नजिँकै पुग्दा रुखहरू जस्ता ढुङ्गाका चुचुराहरू देख्न पाउँदा अचम्म नै लाग्यो । यस क्षेत्रमा कला, संस्कृति तथा भेषभुषाको सङ्गम समेत रहेको पाइयो । यहाँ स्थानीय संस्कार संस्कृतिमा भेष बद्लेर तस्वीर खिच्न पाइन्छ । त्यसैगरी सानी जातिहरूको उपस्थितिमा विशेष नृत्यसहितको बाँसुरी तथा अन्य सङ्गीतका साधनहरूको मिठो धुनले मनै प्रशन्न तुल्याउने रहेछ ।
सन् १९५० को दशकमा शिलिन स्टोन वनलाई चीन सरकारले पर्यटकको लागि खुलाएको थियो । त्यसयता यसको लोकप्रियता बढ्दै गएको एवं सानी मानिसहरूको आतिथ्य र परम्पराले संसारभरका मानिसहरूलाई आकर्षित गरेको पाइन्छ । शिलिनको ढुङ्गाको जंगललाई धेरैले चीनको सबैभन्दा उत्कृष्ट ठाउँ समेत मान्ने हुँदा एकपटक त्यहाँको भ्रमण गर्नु जोकोहीको लागि गौरवको विषय रहेछ । यस्तो सुन्दर, शान्त र रमणीय वातावरणको अनुभूति गरी प्रकृतिको अनुपम उपहारको साक्षात्कार गर्न पाउँदा निकै खुसी लागेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्