केही यात्राहरू नयाँ ठाउँ हेरेर आँखाको शितलता मेट्नका लागि मात्र हुँदैनन्; ती आफ्नै मनभित्रको मौनतासँग साक्षात्कार गराउने बहाना पनि हुन्छन् । यस्तै एउटा पदयात्रा, प्रकृति र आस्थाको सुन्दर सङ्गमस्थल हो मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लट्टारम्भेश्वर महादेवथान ।
ललितपुर सातदोबाटोबाट चापागाउँ, टीकाभैरव, तीनपाने, भट्टेडाँडा, छपेली हुँदै कान्ति लोकपथको करिब ४५ किलोमिटर गाडीको यात्रासँगै पुग्न सकिन्छ महादेवटार बेँसी । बिहानीको ताजापनसँगै हाम्रो पदयात्रा यहीँबाट सुरु हुन्छ । बागमती नदीको सुसाहट, हरियाली र शान्त वातावरण एवं गाउँघरको सरल जीवनले सुरुदेखि नै यात्रामा आत्मीयता थपिरहेको थियो । असार महिना भए पनि पानी धेरै नपरेकोले टन्टलापुर घाम लागिरहेको छ । तल खोँच छ अलि हपक्क जहाँबाट फास्ट ट्रयाकको सुरूङमार्ग निर्माण भइरहेको देख्न सकिन्छ । हामी शनैशनै उकालो बाटो उक्लिन सुरू गर्छौँ । फेदीबाट उकालो लाग्नासाथ जंगलको बाटो केही शितलता अनुभव भए पनि उकालो उक्लिँदै जाँदा घाम आगो ओकल्थ्यो, हावा निस्सासिएझैं थियो भने पसिना भने बाटोलाई सिचाइँ गरिरहेको थियो ।
अलिकति उक्लिएपछि त ओहो ! नाकै ठोक्किने ठाडै उकालो अनि मुखमा रापको राँको सोझ्याइरहेका चट्टानहरू । तारानाथ शर्माले वि.सं. २०२४ पुसतिर बैतडी – डडेलधुराको कठिन घनघस्या उकालो काट्ताको स्मरण भो । उहाँले नियात्रा वर्णनमा उल्लेख गर्नुएको छ कि ‘संसारले अनेकौँ काँचुली फेरिसक्यो, देशका अरू भागले हजारौँ नयाँ दृश्य देखिसके, तर यो उकालो अनन्तदेखि उस्तै छ। युगहरू बिते र समयले टाप लगायो, तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ ।’
घनघस्याको उकालो नेपाली साहित्यमा संघर्षको सशक्त प्रतिकका रूपमा अर्थ्याइए पनि हाम्रो यो यात्राको उकालोले भने त्यसको यादमात्र दिलाउँछ । उबेलाको कठिन परिस्थितिको बिम्बजस्तो उतिसारो स्थान भने यसले पाउँदैन । यद्यपि घनघस्याको उकालो जीवनको कठोर संघर्ष, धैर्य र सहनशीलताको साछी भइदिएर त श्रम, समर्पण र जीवनयात्राको मूल्य छ । लक्ष्य प्राप्तिका लागि निरन्तर उकालो पार गर्नु र डाँडोमा पुग्नु नै त उपलब्धि, सफलता र सन्तोषको अनुभूति हो । दार्शनिक फ्रेडरिक नित्सेले ‘दस स्पोक जराथुस्त्र’ मा उल्लेख गरेजस्तै क्या, ‘पहाड उक्लनु आत्म-विजय (Self over-coming) र उच्च चेतनाको खोज हो ।’
हाम्रो उकालो यात्रा जारी छ । ठाउँ-ठाउँमा बोतलको तिरतिरेले प्यास मेटाउँदै यात्रालाई निरन्तरता दिनुपर्छ किनकि पानी भेटिँदैन । अलिक माथि पुगेपछि मकैबारीको डिल आयो । बाहिरै सुनिने गरी भट्याकभट्याक गरिरहेको मुटुलाई राहत दिन उभिएर यसो तलतिर रमिता हेर्दा त साथीहरू त निकै तल नै उकालोसँग संघर्ष गरिरहेका । बिसाउँदै, उभिँदै, पसिना पुछ्दै गन्तव्यतर्फ लम्किँदै देखिए । जे होस् यात्रामा अरूभन्दा अगाडि बढेर माथि पुगेर तल हेर्दाको अनुभूति भने बेग्लै हुन्छ । त्यसै इटालीका महान कवि दाँते अलिघियरीले उनको महाकाव्य ‘द डिभाइन कमेडी’ मा भनेका होइनन् नि पर्वत चढ्नु आत्म शुद्धीकरण, नैतिक परिष्कार र मोक्षतर्फको यात्रा हो भनेर । यो सम्झिँदा त मलाई शिवजी भेट्न कैलाशै चढेझैँ भान हुन गयो ।
दुई घन्टा उकालो चढिसकेपछि केही घरहरू देखिए । सानो तामाङ्ग बस्ती रहेछ जसले कुखुरा, बाख्रा पालेका, होमस्टे चलाएर सान्दार जीविका गरेका । नजिकै धारो, मुहानकै पानी बगिरहेको थियो । हामी उकालो चढेर थकाइ मार्न पुगेका प्यासी यात्रीलाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो । केही क्षण आरामपछि धारा मुखमा जोडेर घटघटी पारियो । आकासतिर फर्किएर आम्खोराबाट पानी खन्याउँदा किलकिले बजेजस्तै आवाज सुनियो । अहो ! यस्तो मिठो पानी खुवाएपछि धर्म गर्न कुनै ठाउँ धाउनुपर्ला र भन्या ! धन्यवाद।
मान्छे सपना पछ्याउँदै कहाँ पुग्दैन? तर यस्तै गाउँले वस्ती र त्यहाँको जनजीवनसँग भिजेपछि लाग्छ खुसी र सुखी हुन जान्नेलाई नेपाल जत्तिको स्वर्ग त संसारमा कहाँ पो होला र !
मान्छे सपना पछ्याउँदै कहाँ पुग्दैन? तर यस्तै गाउँले वस्ती र त्यहाँको जनजीवनसँग भिजेपछि लाग्छ खुसी र सुखी हुन जान्नेलाई नेपाल जत्तिको स्वर्ग त संसारमा कहाँ पो होला र ! जो जहाँ गए पनि यो संसार एक-अर्काको सहाराले नै चलेको हुन्छ । एक-अर्कालाई जोड्ने रसायन धेरै हदसम्म प्रकृति र संस्कृतिसँगै रहेको हुन्छ । यहाँ महादेव त्यसको लागि सम्बन्ध सेतु हुनुभयो र त हामी पनि जोडिन पुग्यौँ । सामान्य प्रणाली सिद्धान्तका प्रतिपादक अष्ट्रियाका लुडविग भोन बेर्टालान्फीले सुझाएजस्तो संसार अनेक अन्तर-सम्बन्धित प्रणालीहरूको जालो हो; एउटाले अर्कोलाई असर गर्छ । मतलव संसारका सबै प्रणालीहरू परस्पर सम्बन्धित र परस्पर निर्भर हुन्छन् । कुनै पनि प्रणालीलाई अन्य प्रणालीबाट पूर्ण रूपमा अलग गरेर बुझ्न सकिँदैन। यो सिद्धान्त साधारण तर वास्तवमै शक्तिशाली छ ।
केहीबेर आराम गरेपछि हामी त्यहाँबाट पनि उकालो लाग्यौँ । अब पूरै जङ्गलको बाटो रहेछ । जंगलमा प्रवेश गरेपछि वातावरण नै फेरियो । सहरको कोलाहल कानबाट समेत हराइसकेको थियो । प्रकृतिको जोडदार संगीत सुनिन थाल्यो । चराचुरुङ्गीको चिरबिर, हावाको सुस्केरा अनि पातपतिङ्गरको आवाज, झ्याउँकिरीको एकोहोरो र्याइर्याइमा लुसुलुसु हिडाई, यी सबैले पदयात्रालाई रोमाञ्चक र जीवन्त बनाइरहेको मात्र थिएन एक किसिमको थेरापी नै भइरहेको थियो । यसलाई अहिलेको पुस्ता 'नेचर थेरापी' भन्न रूचाउँछ । बाटो कतै सिँढी बनाइएको सहज थियो भने कतै चिप्लो उकालो । ठाउँ-ठाउँ बिश्रामस्थल समेत बनाइएका रहेछन् । उचाईसँगै चिसो पनि बढ्दै गएकोले प्रत्येक विश्रामपछि फेरि अगाडि बढ्ने उत्साह झन् बलियो हुँदै गयो । कुदिरहेको कुहिरो जीवनको परिवर्तनशीलता र समयको प्रवाहको बिम्ब बनेर हामीसँग लुकामारी गरिरहेको थियो । हामी भने अल्लोघारी, जुका, चिप्लो केही नभनी कुहिरोको घुम्टोभित्रको रहस्य छिचोल्न अघि बढिरह्यौँ ।
चराचुरुङ्गीको चिरबिर, हावाको सुस्केरा अनि पातपतिङ्गरको आवाज, झ्याउँकिरीको एकोहोरो र्याइर्याइमा लुसुलुसु हिडाई, यी सबैले पदयात्रालाई रोमाञ्चक र जीवन्त बनाइरहेको मात्र थिएन एक किसिमको थेरापी नै भइरहेको थियो । यसलाई अहिलेको पुस्ता 'नेचर थेरापी' भन्न रूचाउँछ ।
पदयात्राको सबैभन्दा सुन्दर पक्ष हरेक मोडमा नयाँ दृश्य, हरेक उकालोपछि डाँडा अनि मौसम खुलेको समयमा देखिने मनमोहक दृष्य हो । छोटो यात्रामा पनि यति धेरै विविधता, संयोग एवं अनुभूति नेपालमा बाहेक सायद संसारमा विरलै पाइन्छ । जति यात्रामा लम्कँदै अघि बढिन्छ शरीर थाके पनि मन भने अझ हलुङ्गो हुँदै जान्छ । प्रकृतिसँग बिताएको समय गुणस्तरीय हुन्छ जसले थकानलाई आनन्दमा बदल्छ । जङ्गलको यात्रा अझै आदन्ददायी हुन्छ । हेर्नुस् त प्रकृति महान छिन्? त्यसैले बहुप्रतिभाशाली साहित्यकार हेनरी डेभिड थोरोले आफ्नो कृति ‘वाल्डेन’ मा भनेका छन्– वन सरल जीवन, आत्मचिन्तन र स्वतन्त्रताको आश्रय हो । यो प्रकृतिको काखमा रहेको मौन विश्वविद्यालय हो जहाँ मानिसले किताबभन्दा प्रकृतिबाट, भीडभन्दा एकान्तबाट र भोगभन्दा सरलताबाट जीवनको सच्चा अर्थ सिक्दछ । केही घन्टा जङ्गलको यात्रा गर्दा थोरोको बुझाई आफूभित्रै महशुस भइझैं लाग्छ ।
पछिल्लो विश्रामस्थल गाउँबाट डेढ घन्टाको रोमाञ्चक पदयात्रापछि उकालो बाटो समाप्त भयो । डाँडोमा फूल, प्रसाद, माला एवं खानेकुरा बेच्ने अस्थायी पसलहरू रहेछन् । त्यहाँबाट तेर्सो लागेपछि केही किन्न नपाइने । सबैतिर हुस्सुले ढाकिएको अनि हावामा सिमलको भुवा तैरिएझैं कुहिरो कुदिरहेको । लाग्छ हामीलाई भन्दा धेरै हतार त उसलाई छ जो टाढा टाढासम्म भ्याउन दगुरिरहेको छ या उसलाई कुनै आपत् आइलागेको छ । कुहिरो हट्ने आशामा हामीले सानो छँदा भन्ने गरेको सम्झिएँ- 'कुद कुहिरो कुद, तेरा घर चोर पस्यो...' ।
त्यहाँबाट झण्डै १० मिनेटको यात्रापछि एउटा डरैलाग्दो भीरको डिलमा पुगियो । यसो आँखा ओछ्याउँदा त आम्मै कति भिरालो ठाडो पहरा अनि सामुन्नेमा डरै लाग्ने डाँडाहरू लहरै । त्यति संघर्षपूर्ण उकालो यात्राको सबै थकान एक निमेषमै सबै हरायो । अहो अघिल्लो अप्ठ्यारो डाँडोमा अवस्थित यही त रहेछ लट्टारम्भेश्वर महादेवथान । सबैजना एकैसाथ चिच्याए – लट्टारम्भेश्वर महादेव कि – ‘जय’ !
माैसम केही खुलेको देखेर हामी अझै उत्साहित भयौँ र बिस्तारै अखेटो ओर्लिनतिर लाग्यौँ । त्यहाँका अग्ला-अग्ला धारे डाँडाहरू त हिमालको मोहडाजस्तै साँघुरा रहेछन् । पहिले पहरामा ज्यानको बाजी लगाएर जाने गर्थे रे ! अहिले त महादेवथानसम्म पुग्न बार लगाएर राम्रो बाटो बनाएको रहेछ । नयाँ दृष्य कैद गर्न पाएर आँखाका डिलहरू पनि फुरफुर नाचिरहे । हामी महादेवस्थानमा पुग्यौँ । जहाँ महादेव उत्पत्ति हुन्छन् त्यहाँ गुफा (दुलो) हुन्छ नै । यहाँ पनि ढुङ्गाभित्र गुफामा पसेपछि मात्र महादेवको साक्षात्कार गर्न सकिन्छ । महादेवको दर्शनकै लागि टाढा-टाढादेखि आएका भक्तजनहरू पालैपालो दर्शन गर्ने गर्दा रहेछन् । त्यहाँ उल्लेख गरिएअनुसार यो महादेवस्थान समुद्री सहतबाट २७०० मिटर उचाइमा अवस्थित छ । यस स्थानमा सतिदेवीको लट्टा परेको केश पतन भएकोले यहाँ उत्पत्ति भएर शिवशक्ति स्वरूपमा रहेका महादेवको नाम लट्टारम्भेश्वर महादेव रहन गएको कथन पाइन्छ ।
स्थानीयका अनुसार लट्टारम्भेश्वर महादेव यस क्षेत्रको महत्त्वपूर्ण आस्थाको केन्द्र हो । यहाँ आउने श्रद्धालुहरू पूजा–आराधना मात्र गर्न आउँदैनन्; धेरैले यहाँको प्राकृतिक शान्तिमा केही समय बिताउन, मनलाई हलुका बनाउन र आफूलाई पुनर्ताजगी गरी नयाँ ऊर्जा लिएर फर्कन रूचाउँछन् । त्यहाँ पुगेको क्षण शिवसामु पुगेको खुसी मात्र होइन, यात्राको प्रत्येक पाइला सार्थक बनेको अनुभूति समेत भयो । बादलले पूरा घुम्टो नखोलिदिएकोले हामीले सबै दृष्य कैद गर्न भने सकेनाैँ । तथापि शान्त वातावरण, पूरै प्राकृतिक परिवेशमा खुला स्थानमा मन्दिर परिसर, हरियाली अनि खुलेको बेला टाढा-टाढासम्मको मनोरम दृष्यावलोकन गर्न सकिने यो स्थानले मन निकै लोभ्यायो । मन्दिर परिसरबाट देखिने मकवानपुरका हरिया डाँडा र टाढासम्म फैलिएको प्राकृतिक दृश्य निकै मनमोहक थियो । केही समय त्यहीँ बसेर दृश्यावलोकन गर्दा यस्तो महसुस भयो कि कहिलेकाहीँ प्रकृतिले दिने शान्ति शब्दले विल्कुलै वर्णन गर्न सकिँदैन । त्यसलाई केवल अनुभव मात्र गर्न सकिन्छ ।
लट्टारम्भेश्वर महादेव आउने श्रद्धालुहरू पूजा–आराधना मात्र गर्न आउँदैनन्; धेरैले यहाँको प्राकृतिक शान्तिमा केही समय बिताउन, मनलाई हलुका बनाउन र आफूलाई पुनर्ताजगी गरी नयाँ ऊर्जा लिएर फर्कन रूचाउँछन् ।
फर्किने बाटो उही थियो, तर अनुभूति भने फरक। फर्किँदा देखिएका प्रत्येक रूख, प्रत्येक मोड र प्रत्येक खुड्किला अब आफ्नै कथाको हिस्सा बनिसकेका थिए । वास्तवमै पहाड धैर्यको प्रतिमूर्ति हो भने कुहिरो रहस्यको पर्दा हो । वन मौन गुरू हो र त्यहाँ बहने हावा स्वतन्त्रताको द्योतक हो । छाँगा, छहरा अनि झरना जीवनको अविरल सङ्गीत हो भने नदी समयको प्रवाह हो । सूर्य उर्जा र चेतना अनि आकाश असिम सम्भावनाको चाैडा छाती हो । त्यसैले यात्राले सिकाएको एउटा सरल सत्य फेरि सम्झना आयो गन्तव्य सुन्दर हुन सक्छ, तर त्यससम्म पुग्ने यात्रा अझ सुन्दर हुन्छ । लेखक जोन म्युरले विभिन्न निबन्धहरूमा पहाडलाई प्रकृतिको मन्दिर र जङ्गललाई आत्मको उपचारस्थलको उपमा त्यसै दिएका होइनन् रहेछन् । खलिल जिब्रानले द प्रोफेट कृतिमा समेत यस विषयलाई महत्त्व दिँदै भनेका छन् कि प्रकृति केवल दृश्य सौन्दर्य होइन; जीवन र आत्माको भाषा हो ।
हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँका सम्झनाहरू फोटोमा मात्र होइन, मनमा पनि कैद हुन्छन् नै । कवि विलियम वर्ड्सवर्थले आफ्नो कृति लाइन्स कम्पोज्ड अ फ्यु माइल्स अबभ टिन्टर्न एबे मा प्रकृतिलाई आत्माको गुरु अनि शान्ति र नैतिक शिक्षिका मानेझैँ, लट्टारम्भेश्वरको यात्रामा प्रत्येक पाइलाले धैर्यता, प्रत्येक रूखले विनम्रता, कुहिरोले प्रतीक्षा र पहाडको उचाइले आशाको अर्थ सिकाउँदछ । त्यसैले यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ, यदयात्रा (हाइकिङ) मन पराउनुहुन्छ वा केही समयका लागि सहरको व्यस्तताबाट टाढा शान्त वातावरणमा आफूलाई पुनर्ताजगी गराउन मन छ भने लट्टारम्भेश्वर महादेव राम्रो गन्तव्य बन्न सक्छ । यस गन्तव्यमा पदयात्रा, प्रकृति र आध्यात्मिक चेतको भरपुर रसास्वादन गर्न पाइन्छ । यस पदयात्रामा पसिनाले शरीर अवश्यै धुन्छ तर सँगसँगै प्रकृतिको मौनता र महादेवप्रतिको आस्थाले मन धुन्छ र यो पसिनाको तीर्थयात्रामा मात्र सीमित रहँदैन ।
लट्टारम्भेश्वर महादेवकी जय !
केही तस्वीरहरूः
Gallery — 24 photos, Masonry style Click to edit
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्