राष्ट्रकविको सम्झनामा...

राष्ट्रकविको सम्झनामा...

नेपाली साहित्यका जाजल्यमान नक्षत्र राष्ट्रकवि माधव घिमिरे अब हामी सामु रहनु भएन । यस धर्तीमा एक सताब्दीसम्म पाहुना बनेका राष्ट्रकवि घिमिरेले देशको लागि धेरै नै योगदान गरेर अन्तै कतै महाप्रस्थान गर्नुभएको छ ।

तस्वीरः अनलाइनखबर

लम्जुङको पुस्तुनमा गौरीशंकर उपाध्याय र द्रौपदीदेवीको पहिलो पुत्रका रूपमा वि.सं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मिति २०७७ भदौ २ गते १०० वर्ष १० महिनाको उमेरमा निधन भएको हो । उहाँको देहावसानसँगै नेपाली साहित्यमा एक युगकै अन्त्य भएको ठानिएको छ ।

घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दै उपप्रधानमन्त्री ।

तितोमिठो तर हाइहाइ जीवन

सबैको जिन्दगीमा अनेक उचारचवाव अवश्य नै हुन्छन् । घिमिरेको जीवनमा पनि यस्तो भयो नै । ६ वर्षमै मात्सल्य प्रेम गुमाउने एक अभागी मान्छे उहाँ पनि हुनुहुन्छ ।
जीवनको अर्को नमिठो मोड घिमिरेकी धर्मपत्नी गौरीको देहावसान हो । वि.सं २००४ मा गौरीको निधनमा व्याकुल बन्नुभएका घिमिरेले त्यस दुःखलाई गौरी शोककाव्यको रूपमा द्रविभूत गर्नुभयो ।

धर्मपत्नी महाकाली अधिकारीका साथ राष्ट्रकवि घिमिरे ।

वि.सं २०१५ मा साझा प्रकाशनले प्रकाशनमा ल्याएको यो काव्यमा संग्रहित १२ उपशीर्षकका कविताहरू धेरैलाई अझै मुखाग्र छन् । यही काव्यले नै उहाँलाई परिचित र लोकप्रिय बनायो । त्यसैले यो सत्य रहेछ कि मान्छेलाई राप र तापले नै तिखार्ने अनि निखार्ने रहेछ । बिचलित हुनु हुँदैनन ।  

त्यसपछिको सिर्जनशील जीवनमा घिमिरेले कहिल्यै पछि फर्किएर हेर्नुपरेन । दुनियाँको हाईहाई भएर सार्थक र प्रेरक जीवन यापन गर्नुभएका उहाँलाई अत्यन्तै उर्जाशील, सिर्जनशील, देशप्रेमी महान व्यक्तित्वको रूपमा लोकले अनुमोदन गरिसकेको छ ।

त्यसैले त उहाँको अभिनन्दन गर्ने देशव्यापी जनलहर नै थियो । उहाँ जीवनकालमा सर्वाधिक सम्मान पाउने भाग्यमानी व्यक्ति मध्येका एक हुनुहुन्छ ।

साधना र सिर्जनाको शक्ति

माधव घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका एक होनहार नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको अतुलनीय योगदान रहेको छ ।

साहित्यका अधिकांश विधामा कलम चलाएर सबैका मन, मस्तिष्कमा बस्न सफल घिमिरेलाई अत्यन्तै राष्ट्रप्रेमी एवम् प्रकृतिप्रेही व्यक्तिको रूपमा पाउन सकिन्छ । उहाँले प्रकृतिका वान्कीहरूलाई साहित्यमा उतारेर नै संसार जित्न सक्नुभयो ।

नेपाली साहित्यका कविता, कथा, खण्डकाव्य, निबन्ध, गीतिनाटक, अनुवाद लेख-रचनाजस्ता विविध विधा-उपविधाहरुमा निरन्तर कलम चलाउँने घिमिरे बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो ।

संस्कृत विद्याको निरन्तर साधनाले उहाँलाई साहित्यमा धेरै नै सफल गराएको पाउन सकिन्छ । उहाँले भारतको बनारससम्म पुगेर दर्शनमा शास्त्रीसम्मको अध्ययन गर्नुभएको थियो भने केही समय शिक्षण तथा प्राध्यापन समेत गर्नुभएको थियो । उहाँको अधिकांश समय नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बितेको थियो । यस प्राज्ञिक संस्थामा सदस्यदेखि उनी कुलपतिसम्म हुनुभएका उहाँले २०४६ सालपछि संस्था छोड्नु भएको थियो ।

घिमिरेलाई नेपाली पद्य कविता तथा कालजयी गीत रचनाहरूले सबैभन्दा लोकप्रिय बनायो । यो सिर्जनाको अदभूत शक्ति हो । यतिबेला उहाँले नै रचना गरेको यो लाइन म सम्झन्छुः

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल,
सृजना शक्ति संसारमा कैल्यै हुँदैन विफल ।‘

सिर्जनाको शक्ति साँच्चै मान्छेको मन, मस्तिष्क हल्लाउने हुन्छ भन्ने कुरा घिमिरेप्रतिको मानिसहरूको प्रेम र अगाध सदभावले प्रमाणित गर्दछ ।

प्रकृति, दर्शन, विज्ञान, लोकजीवन आदिको माध्यमबाट जीवनसँग अटुट सम्बन्ध भएको साहित्य नै असल साहित्य हो भन्ठान्ने उहाँ रचनाका सम्बन्धमा भन्नुहुन्थ्यो – ‘म त्यतिबेलासम्म संशोधन गर्छु जतिबेलासम्म मैले भन्न खोजेको भित्री भावना, यसमा पार्न सक्दिनँ ।‘

बाल साहित्यमा उस्तै योगदान

घिमिरेले बालसाहित्यमा समेत धेरै महत्वपूर्ण योगदान गर्नुभएको छ । सियो खोइ सियो, अहिले यहीँ थियो... कवितादेखि गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली...जस्ता गीतहरू नगाउने बालबालिका विरलै भेटिएला ।

२२ वटा कविताहरू भएको घामपानी (२०१२), २४ वटा कविताहरूको बाल लहरी (२०२६) र ३० वटा कविताहरूको संग्रह रहेको सुनपंखीचरी (२०३५) जस्ता बालकविता कृतिहरू प्रकाशित छन् । त्यसैगरी राहूल यशोधरा (२०३५) नामक बालकाव्य समेत घिमिरेकै रचना हो ।

घिमिरे एक उत्कृष्ट बाल कविका रूपमा सर्वाधिक चर्चित बनेको देखिन्छ ।

कालजयी गीतहरू

राष्ट्रकवि माधवप्रसाद घिमिरे उत्तिकै सशक्त गीतकार पनि हुनुहुन्छ । वि.सं २००२ सालदेखि नै गीत लेख्न सुरू गर्नुभएका उहाँले गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, परन्तु एउटै मूर्तिमा विराटजस्ता उत्कृष्ट गीत सिर्जना गर्नुभएको छ ।

त्यसैगरी नेपालै नरहे, आजै र राति के देखें सपना मै मरि गएको, कहिले भेट होला है दाजै, क्षमा गर्न सक्दिनँ म जस्ता कालजयी गीतहरू पनि उहाँकै सिर्जना हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, धर्मराज थापा, गोकुल जोशी, केवलपुरे किसानलगायतका लोकलयात्मक गीति कविताहरू चर्चित भएको समयमा उहाँले पनि गीतकारको रूपमा आफूलाई स्थापित गर्न भरमग्दुर प्रयाश गरेको देखिन्छ ।

घिमिरेका नयाँ नेपाल (२०१३), किन्नर–किन्नरी (२०३३) गीतसंग्रहहरू समेत प्रकाशित छन् ।

सम्मान तथा पुरस्कार

मलाई लाग्दछ कि कसैले हस्तान्तरण गरेको सम्मान र दिएको उपमाभन्दा मानिसहरूको प्रेम र सदभाव कैयौं गुणा शक्तिशाली हो । मानिसका मन मनमा बस्न सफल हुनु चानचुने कुरो हुँदै होइन ।

विरलै प्राप्त हुने यो अवशरको प्रत्यक्ष अनुभूति गर्न पाउने महान मान्छेमध्येका एक राष्ट्रकवि माधव घिमिरे हुनुहुन्छ । यसले नै उहाँको प्रस्थान हाम्रो लागि गह्रौं बन्न पुगेको छ ।

उहाँले प्राप्त गर्नुभएका केही सम्मानहरूः

  • राष्ट्रकविको उपाधि
  • वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त
  • वि.सं.२०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि साझा पुरस्कार प्राप्त
  • वि.सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार
  • वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित
  • सरकारी गोरखा दक्षिणवाहुदेखि एकेडेमीका पुरस्कार र निजी क्षेत्रका बहुसंख्यक पुरस्कारहरू प्राप्त

सक्रिय र सिर्जनशील जीवनबाट के सिक्ने ? 

सँधै हसिलो, रसिलो अनि रचनात्मक जीवनको खोजीमा रहने राष्ट्रकवि माधव प्रसाद घिमिरे जीवनको अन्तिम क्षणसम्म पनि नेपाली भाषा, साहित्यकै श्रीवृद्धिमा लागि परेको देखिन्छ । 
कोभिड-१९ को समस्या सुरू हुनुअघिसम्म उहाँले विभिन्न निम्तोहरूमा उपस्थिति जनाएर हाैसला बढाइरहनुभएको थियो ।

साहित्यसँग सम्बन्धित कार्यक्रमहरूमा उहाँको ठूलो अभिरूची थियो । सबैतिर उपस्थितिको अपेक्षा गरिन्थ्यो भने सकेसम्म उहाँ कार्यक्रमहरूमा सरिक पनि हुनुहुन्थ्यो ।

लेखको शिलशिलामा भने पछिल्लो समय “ऋतुम्भरा” काव्यको रचना अन्तिम अवस्थामा रहेको भन्ने कुरा उहाँले बताउनुभएको थियो ।

तर उहाँको जीवनकालमा अन्तिम काव्यको रूपमा ऋतुम्भराले पुस्तकको रूप धारण गर्न पाएन ।

दुःखी पनि खुशी पनि

आफ्नो जीवनकालमा यस्ता महान श्रष्टा तथा सर्जक गुमाउनुपर्दा जोकोहीलाई पनि अवश्य दुःख लाग्नु स्वभाविक छ । एक युगमा एक पटक जन्मिने घिमिरेजस्ता साधक र सर्जक पाउन हामीलाई धेरै समय लाग्ने छ । तथापि मृत्यु अवश्यमभावी छ र यो रोकेर रोकिन्न । यस दृष्टिकोणबाट हेर्दा घिमिरेजस्ता महान साहित्यकारको युगमा साक्षी बनेर एक शताव्दी अघिको ज्ञान, विवेक, सुझबुझको पुस्तान्तरणको बाहक बन्न पाएकोमा खुशी पनि लाग्छ ।

नेपाल देश र नेपाली भाषा साहित्यको श्रीवृद्विमा यहाँको योगदान अतुलनीय छ साथै सदैव अविश्मरणीय र ताजै रहनेछ । देशप्रेमी, लोकप्रेमी यहाँको आत्माले वैकुण्ठमा बास पाओस् र सदा खुशी रहनुहोस भन्ने प्रार्थना गर्दै गौरीमा यहाँले नै रचना गरेका यी गहकिला हरफहरू सम्झन्छुः

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !

मृत्युका सम्बन्धमा गहन गीत

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो ह्रासमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।

लोभलाग्दो जनलहर

 

 

माधव घिमिरेका कृतिहरू

कविता संग्रह

  • नवमञ्जरी (१९९४)
  • चैत-वैशाख (२०६०)

बालकविता संग्रह

  • घामपानी (२०१२) 
  • बिजुले र बिजुला (२०६३)

काव्य

  • नयाँ नेपाल (२०१३)
  • गौरी – शोककाव्य (२०१५)
  • राजेश्वरी (२०१७)
  • राजेश्वरी-पापिनी आमा सहित (२०३०)
  • राष्ट्र-निर्माता (२०३०)
  • पच्चीस वर्षका खण्डकाव्य (२०३९)
  • इन्द्रकुमारी (२०५७)
  • दुर्गा-सप्तशति (२०५९)

गीत/बालगीत संग्रह

  • किन्नर-किन्नरी (२०१७)
  • सुनपङ्खी चरी (२०५३)

नाटक

  • नागानन्द (२००२)
  • शकुन्तला (गीतिनाटक) (२०३७)
  • मालती मङ्गले (गीति-नाटक) (२०४२)
  • अश्वत्थामा (गीति-नाटक) (२०५३)
  • हिमालपारि हिमालवारि (गीति-नाटक) (२०५४)
  • विषकन्या (गीति-नाटक) (२०५०)

निबन्ध/समालोचना  सङ्ग्रह

  • आफ्नो बाँसुरी आफ्नै गीत (२०४९)
  • चारु चर्चा (२०५८)

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००