केराको बोक्रामा जब बुलेट चिप्लियो...

केराको बोक्रामा जब बुलेट चिप्लियो...

परस्पर ठगिने विषय !

  • कारभित्र चिटिक्क र सुकिली भएर यात्रा गरिरहेकी झुमा दिदीले फालेको केराको बोक्रोमा चिप्लेर पछिपछि बुलेट बाइकमा आउँदै गरेको आफ्नो छोरो मिल्टन बल्ड्याङ्ग, ढाड तिर्पट, जीवन चौपट ।
  • छोरीलाई पढाउनुहुन्न भन्ने धारणामा कट्टर काइँला बाको घरमा बुहारी पनि नपढेको परेपछि (सबैले छोरी नपढाएपछि बुहारी कताबाट पढेका आउन्) अस्पतालले दिएको दबाई र मुसाको बिख छुट्याउन नसकेर दबाईको साटो मुसाको बिख खान पुगेर परलोक भए ।
  • छोराछोरीलाई सुख दिन र अरूकोभन्दा भिन्नै ट्यालेन्ट बनाउन एक रति काम नलगाउने तल्लो शहरका पिठुवाघरे बुढाबुढी छोराले दुःख र मेहनत कस्तो हुन्छ भन्ने भेउ नपाउँदा भएको झिटिझाम्टो मादकमा उडाएर रातदिन सताएपछि पो ए बाबा चेब्र्याइँ र सम्पत्तिले मान्छेलाई सक्ने रैछ भनेर बल्ल झल्यास्स भए ।
  • पैसा भएरमात्र हुन्छ, लाउनु खानु पर्दैन? मलाइ छड्के तिलहरी चाहियो, कानमा चाहियो, नाकमा चाहियो, हातमा चाहियो भनेर रोजगारी माइलालाई बाध्य पार्ने घरमुली सुन्तु दिदीको हिँजो साँझ मात्र हो, दर खान निस्कँदा चोरले एउटा कानै लुछेर लगो रे ! घाँटीको थुत्दा मुन्टो पूरै बाङ्गो । बर्बाद ।
  • माथ्लो खण्डमा बस्ने दाजुको परिवारले खोलामा हालेको फोहोर तल्लो खण्डमा बस्ने भाइको परिवारको पानीमा मिसिँएर बिरामीको उपचार गर्दागर्दै मान्छे नि गए, दुवै परिवारको घर खेत नि गयो, बाँचेका अहिले ठन्डाराम ।
  • घरको आँगनको २/४ इन्च जमिन जाला भनेर पाखुरा सुर्कँदै बाटो बढाउन नदिँएर पोहोर साल बुज्रुक्याइँ र रमिता देखाएका पिपलटारे जेठानको घर दमकल आउन नसकेर यसपालि आगोले खाएपछि बूढाको तारै खुस्कियो ।
  • सार्वजनिक चउर बनाउन आधा आना जग्गा छोडौं भन्ने सल्लाह हुँदा मारपिट चल्यो, अर्को साल भूकम्पले हल्लाउँदा भाग्ने ठाउँ नभएर कत्लेबा र ज्यामिर वकिलसहित सुन्दरटोलका २० जनालाई भूकम्पले निल्यो ।
  • सबै मिलेर एउटा पार्क बनाउँ न भन्ने सल्लाह नमिलेर बखानपुर शहरका टोलबासीबीच कुटाकुट भयो, छोरालाई भुलाउन बाटोमा लिएर फुटबल खेल्न तम्सिएका बखानपुरे परासर बा र छोरीलाई हातमा समातेर ताते गराउँदै हिँडेकी लक्ष्मी दिदीलार्इ हुइँकिएर आएको गाडीले बजाएर हंस उडाइदियो ।
  • गाडीको डरले बाहिर निस्कन नसक्ने बुइपा टोलका प्रोफेसर डिलाराम काका आफ्ना छोराछोरीलाई च्यान गेट तानेर सँधै भित्रै थुन्नुपर्ने बाध्यतामा पर्दा छोरा र छोरी दुवैमा अटिजम देखिएर क्वाँक्वाँ रूँदै हिडेका छन् ।
  • पति परदेशिएपछि सुख खोज्दै काठमाडौं पसेकी च्यान्टी दिनभर गिटी, बालुवा र इँटा बोक्न परिन्, दुईटा बालबच्चा राम्रो स्कुल पठाएर डाक्टर इन्जिनियर बनाउने सपना तब तुहियो जब दैनिक चाउचाउको भरमा स्कुल पठाउने गरिएका बालबच्चा दुवैलाई ब्लड क्यान्सर देखियो ।
  • आम्मामामामा ! पानीको त क्या सुख भो भन्दै हनबेर्ने टोलमा ठूल्ठूला बोरिङ्ग मेसिन गाढेर प्रत्येक घरमा पानीको फोहोरा लगेर दिनै पखाले । पानी बाथरूम, ढल, सिमेन्टको कुलो हुँदै बगेर अन्तै गयो । पोहोर साल परकम्पले थर्काउँदा टोलका सबै घर छतबाट जमिनमै फुत्रुक्क हामफाल्न मिल्ने गरी सुतुतुतुतुतुतुतुतु तल गाडिए । चेतावनी रैछ प्रकृतिको, बाँकी त रह्यो सास, तर जमिनमुनिको बास ।
  • सबैले झ्यापका झ्याप नोट छापेको सुनेर गाउँको बारी सबै बाँझो राखी गोलघरको च्यामे श्रीमति र एक छोरालाई सहरमा कोठा खोजिदिएर अरब हान्नियो । मरूभूमिमा दिनको १९ घन्टा उँट चराएर मासिक १५ हजार घरखर्च पठाउँथ्यो । बूढीले उताको दुःख बुझिन, यत्तिकै रैछन सुखका दिन भन्दै धनविरेसँग ट्यान्टरम्यान्टर गरेर सबै कुम्ल्याएर सुइँकेको खबर पाएपछि च्यामे मरूभूमिमै ढल्दा पानी छ्याप्ने र छ्याप्ने पानीसम्म पनि पाएन । थेत !
  • उब्जाउ हुने जमिनमा भटाभट कंक्रिटको घर थुपारेर भएको पाखोरेखोमा पनि दुःख भो भनेर उपरखुट्टी लाउने र खाने बेलामा यसो बजारतिर चामल र तिहुनताहुन खोज्न हिँड्ने बानी लागेका हंसपुर सहरका मान्छे तीन वर्षपछि सबै हँहँ गर्न थालेपछि अस्पताल जाँदा आयातित विषादीले सर्पले निलेर फुत्किएको भ्यागुतोजस्तो खाइ पो सकेछ ज्यान, तेसिमालाने । सबलाई क्यान्सर । हैट !
  • साइकल चढ्दा इज्जत भएन भनेर बैंकबाट ऋण निकाली गाडीमा फुइँ लाउन तम्सिएका पुडासैनी काका भतिज बिहेमा जन्ति जान र भोज खान भनेर बिहान १० बजे घरबाट निस्केका । ट्यूरो मोटरसाइकलमा पछि लागेको छिमेकी रम्तेल जन्ति गएर खाइवरी फर्किँदा त काका त आधा बाटैमा जाममा प्वाँप्वाँ हरन दाबिरहेका । फूर्तिले धुलो चटायो भन्दै छिमेकीले चोरबाटो ततायो ।
  • सीप सिकेर बाको छँदाखाँदाको कुटीर उद्योग सम्हाल्न छोडेर पैसाको भारी ल्याउन विदेश छिरेको पिड्के गाउँको श्यामेलाई गोराले लोथ फर्काएछ । ५०/१०० किलोका माछा बोक्ताबोक्ता बल्लतल्ल ३ वर्षमा फर्किँदा ५ लाख रूप्पे बोकेर फर्कियो । एकदिच च्वास्स भुँडी दुखेर जचाउँदा त दुवै मिर्गौला चट । बाको कुटीर उद्योग चिरिप, मान्छे नि झिरिप ! 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००