गर्ज गुमान

 

संसार ऐँचन खोज्ने मत्सर लोक;
लेउ नउम्रिने तिम्रो क्रुर आत्मको अन्तरकुन्तरमा कतै,
मलाई बुद्धको सन्देश उमार्न मन छ ।
गोलाबारुद र आतिशबाजीको अचाक्लीपनलाई,
करुणा र प्रज्ञाका दुई आँखाले पुलुक्क हेरेर
इतिहासको रछ्यानमा थुपार्न मन छ ।।

मानवताविहीन भूमिमा लडेका लासहरुको थुप्रोलाई,
प्राणवायुको अगुल्टो झोसेर सग्लै उठाउन मन छ ।
बारुदको गन्धले विश्राम नपाएका नाकका पोराहरुमा,
पलास र चमेलीको सुगन्ध पठाउन मन छ ।।

सिउँडीका काँडा झै जुर्मुराएको दुस्साहसी मनमा,
आमाको ममता र मायाको बीउ रोप्न मन छ ।
लुछ्दा, चुस्दा तिख्खर भएका रक्तपिपासु दाह्रा र नंग्रा,
बरु उखेलेरै उदांगिएको लाज छोप्न मन छ ।।

फोहोर जमेर तिम्रो मगजमा बनेको प्रतिशोधको ऐजेरु,
क्यान्सर बन्नुअघि नै उपचार गर्न मन छ ।
दूर्गन्धित अनि विकार ढल बग्ने तिम्रा रक्तनलीहरुमा,
सहिदहरुको मातृप्रेमको रगत सञ्चार गर्न मन छ ।।

अभाव र संवेदनामा अघाएर निष्फिक्री डुक्राउने ब्वाँसोहरुलाई,
सिनो बनाएर प्रकृतिको कुचिकार लगाउन मन छ ।
अकाल टिप्ने काल अकाशबाट वर्षाउने संहारकारी निर्जीवहरुलाई,
पुष्पवृष्टि अनि अधम्य खुशीका खहरेहरूमा बगाउन मन छ ।

सभ्यता र सत्यताले परिपूर्ण पूर्वीय दर्शनहरुको चाङबाट,
कचल्टो प्रदर्शन रोक्न एक थान मन्त्र रटाउन मन छ ।
तिम्रा बग्रेल्ती कुबुद्धि अनि चिलबिल परिवेशहरु सम्हाल्न,
नेपाली महावीर र कर्मबीर खटाउन मन छ ।।

हो मसँग मन्त्रपूत भूमि छ,
पसिनाले सिंचित माटो छ,
अहिंसाका पूजारी बुद्ध छन्,
शान्तिको बीउ छ,
करुणा र प्रज्ञाको आँखा छ
आत्म चेत र दिव्य दृष्टि छ,
जिउँदो इतिहास, आदिम सृष्टि छ,
नैतिकताको खाष्टो छ,
मातृप्रेम छ, भातृप्रेम छ,
चन्द्रमा झैं शित्तल आत्मा छ,
सूर्यझैं उपकारको राप ताप छ,
भातृत्वको ढुकढुकी र धडकन छ
अनि न मातृत्व अभाव खड्कन्छ,

हो मसँग संसार अटाउने दिल छ,
जहाँ तिमीजस्तालाई बास मुस्किल छ,
त्यसैले औंलो ठड्याउँछु म,
खबरदार !
घृणा र आगो ओकल्न रोक छ,
शान्ति र भातृत्वमै सबथोक छ ।।…(२)

– २०७३ कार्तिक ६

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००