जन्मजातै मिर्गाैलामा रोग हुन सक्छ । त्यसबाहेक उमेरअनुसार फरक–फरक किसिमका रोग देखा पर्न सक्छ । त्यस्तै, ४० वर्ष नाघेपछि मधुमेह र उच्च रक्तचापले मिर्गाैला बिग्रन सक्छ । इन्फेक्सनले गर्दा, खानपानले गर्दा पनि मिर्गौलामा समस्या आउन सक्छ । मिर्गाैलामा समस्या देखिँदा शरीर सुन्निने, पिसाब रातो हुने, रगत देखा पर्ने हुन सक्छ । मिर्गाैला बिग्रिएपछि ट्रान्सप्लान्ट हुन्छ, कि त बारम्बार डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गाैला मानिसको महत्वपूर्ण अंग भएकाले यसबारे विशेष ध्यान दिन आवश्यक छ ।
सम्भावित कारण
नुनको बढी प्रयोग, मदिरापान, चिल्लो, मसलेदार खाना, औषधिको जथाभावी प्रयोगले मिर्गाैलामा समस्या देखिन सक्छ । यस्तै, शरीर दुख्दा पनि जथाभावी पेनकिलरको प्रयोग गर्ने प्रचलन बढ्दो छ । जसका कारण पनि मिर्गौलामा समस्या देखिन्छ । दैनिक तनावपूर्ण जीवनशैली र व्यायाम नगर्दा पनि समस्या हुन सक्छ । मिर्गाैलाको पत्थरी, क्यान्सरलगायतका समस्याले मिर्गाैलामा समस्या हुने सम्भावना हुन्छ । धेरै बेर पिसाब रोक्ने बानीले पनि मिर्गाैलामा असर पुग्छ ।
लक्षण
- मिर्गाैलामा रोग लागेमा शरीर बढी सुन्निन्छ । विशेषगरी, खुट्टा अत्यधिक सुन्निन्छ ।
- एक्कासि पेट दुख्ने, पिसाबमा रगत देखिने, पिसाबमा फिँज देखिने, आँखावरिपरि सुन्निने, मुख नै सुन्निने, खुट्टा सुन्निने र पछि शरीर पूरै सुन्निएर आउने ।
- मिर्गाैलाको दायाँ–बायाँ स्टोन रहँदा अत्यधिक दुख्ने ।
- खाना रुचि नहुने, बान्ता भइरहने, ओठमुख सुक्खा हुने ।
बच्ने उपाय
- रक्तचाप र मधुमेहलाई सन्तुलनमा राख्नुपर्छ । मिर्गाैला स्वस्थ राख्न रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी सन्तुलनमा राख्ने ।
- ४० वर्ष नाघेपछि मधुमेह र उच्च रक्तचापले पीडित मानिसमा मिर्गाैला बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले यस्तो मानिसले ६–६ महिनामा मिर्गाैला परीक्षण गर्न जरुरी हुन्छ ।
- पानीको कमीले गर्दा पनि मिर्गाैलामा समस्या देखिने सम्भावना हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउने ।
- दैनिक करिब दुई लिटर पिसाब हुने गरी पानी तथा झोल पदार्थ पिउने ।
- उचाइबमोजिमको तौल कायम गर्ने ।
- फाइबरयुक्त खाना बढी र नुन कम सेवन गर्ने । फलफूलको प्रयोगलाई पनि बढाउन जरुरी हुन्छ ।
- भोक नलाग्ने, खुट्टा सुन्निएको छ, कोखा दुखिरहेको छ भने चिकित्सकसँग सम्पर्क गर्ने । चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।
- मिर्गाैलामा संक्रमण भएमा डायलाइसिस गराउनुपर्छ ।
- खानपिनमा विशेष ख्याल गर्नुपर्छ । हाई प्रोटिनयुक्त खानाले मिर्गाैलामा लोड पर्छ, त्यसैले यस्ता खानेकुरा नखाने ।
- फ्राई खानेकुरा जस्तै– सेकुवा, तन्दुरीलगायतका खाना धेरै नखाने ।
- उमेरअनुसारको व्यायाम गर्ने ।
- दुखाइ कम गर्ने औषधि जथाभावी प्रयोग गर्नुहुँदैन । जथाभावी प्रयोग गर्ने आयुर्वेेदिक औषधिले पनि मिर्गाैलामा असर गरेको हुन्छ । त्यसकारण चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।
- धूम्रपान, मद्यपान नगर्ने ।
- मिर्गौलामा पत्थरीको समस्या छ भने पालुंगो, चम्सुरजस्ता सागको प्रयोग गर्नुहुँदैन । क्याल्सियमयुक्त खाना बढी प्रयोग गर्नुहुँदैन ।
(नयाँ पत्रिका दैनिकबाट साभार गरिएको)
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्