पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनाको त्रासदीपूर्ण घटना

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनाको त्रासदीपूर्ण घटना

२०७९ को माघे संक्रान्तिको बिहान थियो । सरकारले सार्वजनिक विदा दिएको थियो । परिवारजन भेला भएर सबैजना चाडपर्वको मेसोमा रमाइरहेका थिए । कोही नुवाइधुवाई त कोही घीउ, चाकु, तरूल खान व्यस्त । बराहक्षेत्र, देवघाट, रिडीलगायत विभिन्न स्थानमा मकर नुहाउने तथा मेला भर्नेको घुइँचो उस्तै थियो । थारू जातिको महान चाड माघी तथा मगर जातिको विशेष पर्व भएकोले काठमाडौंको टुँडिखेललगायत विभिन्न स्थानमा भव्य कार्यक्रम गरेर माघे संक्रान्ति मनाउने तयारी थियो । जहाँ राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिति रहने कार्यक्रम समेत तय भएको थियो । यही उल्लासमय समयमा बिहान ११ बजेतिर अचानक एउटा दुःखद् खबर फैलियो “पोखरामा विमान खस्यो रे !” जसले मेरो मन अत्यन्त अमिलो बनायो । प्रार्थना गरेँ यो खबर झूठो होस् ।

एकछिनमा पुष्टि भयो यति एअरलाइन्सको ७२ सिटे एटीआर विमान पोखरा विमानस्थलमा अवतरण गर्न एप्रोच लिँदै गर्दा अचानक सेती नदीको खोंचमा खसेछ । विमानमा सवार ६८ जना यात्रु र चार जना चालक दलका सदस्यको अवस्थाले सबैलाई पिरोल्यो । विमान त खस्यो खस्यो, मानवीय क्षति नहोस् भन्ने कामना सामाजिक सञ्जालहरूमा देखिन थाले । वरपर घना बस्ती छल्दै विमान निकै नै अप्ठ्यारो अक्करे भीरसहितको गहिरो खोंचमा खसेर आगलागी भएका दृष्यहरूले अवस्था भयावह भएको संकेत गरे । नभन्दै विमानमा आगोका लप्का र धुवाँको मुस्लो उठेर क्षणभरमै दन्किन थाल्यो । दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार रहेछन् । तीमध्ये कसैलाई पनि बचाउन सकिएन ।

मानवीयता हराउँदै गएको समाज, विपत्तीमा पनि भाइरल हुने लोभ

उद्दारमा सक्रिय स्थानीयका अनुसार केही यात्रु विमान ठोक्किँदा उछिट्टिएर बाहिर निस्किएका रहेछन् । जसको धुकधुकी थियो र पानी पानी भन्दै चिच्याउँदै थिए । एक जना युवा विकास बस्यालले उद्दारका लागि बोलाए पनि सबै फोटो र भिडियो खिचेर बसेको तर कोही पनि अघि नसरेको भन्दै निकै कारूणिक अवस्थाको चित्रण गरे । उनले आफूले ६, ७ जनालाई सग्लै निकालेको र तिमध्ये दुई जना जीवितै रहेको पछि पानी खान दिएर अस्पताल पठाएको जनाए पनि त्यहा पुग्दासम्म निकै ढिलो भैसकेकोले कसैको ज्यान जोगाउन सकिएन । यस्तो हृदयविधारक घटना देख्ने सुन्ने सबै विछिप्त बने !

उद्दार कार्यमा सबै तत्काल खटिने अवस्था भएको भए विमानमा आगो नफैलिँदै केही मृतकलाई सग्लै निकाल्न या कसैको ज्यान बचाउन सकिने अवस्था पनि हुन सक्थ्यो । तर त्यस्तो हुन सकेन । घटनास्थलमा एम्बुलेन्सले बाटो पाएन, मोबाइल नेटवर्क लागेन, उद्दारकर्ताले बाटो नपाउने गरी भीड लाग्यो तर भाइरल हुने इच्छा राखेर मान्छे मोबाइलमा भिडियो अनि टिकटक बनाउन व्यस्त भएको देख्दा मानवीयताको खडेरी परेको आभास हुन्थ्यो । यसले हामी नेपालीको मावनीयता अनि हाम्रो समाज समाज कता जाँदैछ भन्ने टड्कारो प्रश्न समेत उब्जाइदिनु अस्वाभाविक होइन । यस्तो अवस्था मानव जगतकै निम्ति पीडादायी र दुःखद् हो र यस्तो अवस्था कदापि आउनु हुँदैन ।     

आखिर हरेक दिन दिन नै हुँदो रहेछ !

बिहान एक पटक उडान भरेर सकुशल फर्केको विमान पुनः दोस्रोपटक उडान भर्न पोखरा पुगेको थियो । त्रिभुवन विमानस्थलबाट बिहान १०.३० बजे उडेको उक्त जहालाई क्याप्टेन कमल केसीले उडाएका थिए भने कोपाइलन अन्जु खतिवडा रहेको पुष्टि भयो । पोखराकै नागरिक केसी दुई दशक जहाज उडाएका प्रशिक्षक पाइलट थिए । उनी अनुभवी र सिनियर पाइलट भएको हुँदा गल्ती भयो होला कि भन्न नि गाह्रो भयो । १०.५० बजे अन्तिमपटक पोखरा टावरसँग सम्पर्कमा आएको विमान लगत्तै दुर्घटनामा  परेको देखियो । पोखरा टावरका अनुसार विमान आँखैले देखिने गरी अवतरणको अन्तिम तयारीमा थियो र एअर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा अवतरण गर्न अनुमति समेत दिइसकेका थिए । तर क्याप्टेनले अर्को रनवे १२ पट्टिबाट आउँछु भनेर जनाए । एटीसीले क्लिअरेन्स दिए पनि लगत्तै जहाज दुर्घटनामा पर्यो ।

एक स्थानीयले खिचेको भिडियोमा उडिरहेको जहाज एक्कासी कोल्टे परेर झरेको र ठूलो आवाज आएको सुनिन्छ । धेरै वर्षदेखि हवाई क्षेत्रलाई नजिकबाट नियालेको अनुभवका आधारमा भन्नुपर्दा यसरी सिधै जहाज खस्नु साह्रै नै डरलाग्दो अवस्था हो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको देखियो । जहाज खसेको स्थानबाट पुरानो विमानस्थल केही सेकण्ड टाढामात्र थियो भने नयाँ विमानस्थल पनि नजिकै थियो । यदि जहाजले ३० रनवे नै रोजेर पूर्वपट्टिबाट सिधै अवतरण गरेको भए दुर्घटनाबाट जोगिनसक्ने देखिन्छ । तर दिनदशा भनौं, क्याप्टेनले किन अर्कै बाटो रोजे, एक्कासी जहाज मोडे र दुर्घटना रोजे उनै जानून ।

नेपाल आकासमा असुरक्षाको बादल

हवाई यातायात तुलनात्मक रूपमा विश्वमै सुरक्षित मानिन्छ । कडा नियमनमा हुने तथा धेरै नै संवेदनशील क्षेत्र भएकोले सबैको चासो र ध्यान यस क्षेत्रमा केन्द्रित हुने गर्दछ । यसरी ध्यान दिँदादिँदै पनि दुर्घटना न्यूनीकरण गर्न नसक्दा जनमानसमा ठूलो डर पैदा हुनु स्वभाविकै छ । नेपाली हवाई इतिहासमा धेरैपटक सानाठूला हवाई दुर्घटना भैसकेको तथा सयौं मानिसको ज्यान गैसकेका कारण यो क्षेत्रलाई निकै नै जोखिमपूर्ण क्षेत्रको रूपमा हेर्न थालिएको छ । यस्तै संवेदनशिलतामा ध्यान नदिएको भन्दै युरोपले नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको निकै वर्ष भैसक्यो । पोखरामा भएको हवाई दुर्घटनाले नेपाली उड्डयन क्षेत्रमा थप आशंका उब्जाउनु स्वभाविक हो । पोखरा अन्तराष्ट्रिय विमानस्थल यही २०२३ जनवरी १ मा मात्र उद्घाटन भएको अवस्थामा यसरी विमानस्थल छेउमै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी आन्तरिक उडानको विमान दुर्घटनामा पर्नुले नेपाली आकाश थप असुरक्षित होकि भन्ने सन्देह फैलिएको छ । यसले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश गएको छ भने नेपालको पर्यटनको केन्द्र पोखरा नगरीलाई अतुलनीय क्षति गराएको छ ।

सरकारले यससम्बन्धी जाँचबूझ गर्न आयोग समेत गठन गरेको छ । यससम्बन्धी सत्यतथ्य उजागर हुने नै छ । योलगायत यसअघि पनि विभिन्न जाँच आयोगले उठाएका विषयहरूको सुक्ष्म विश्लेषण र कार्यान्वयन गरी हवाई दुर्घटना न्यूनीकरणमा कठोर कदम चाल्नु आवश्यक छ । नेपाल सरकारले यस्ता दुर्घटनाप्रति अत्यन्त संवेदनशील र गम्भीर बनेर आगामी दिनमा यस्ता त्रासदीपूर्ण घटना दोहोरिन नदिन र नेपाली आकास सुरक्षित छ भन्ने सन्देस प्रवाह गर्न कुनै कसर बाँकी राख्नुहुँदैन । त्यसका लागि समग्र हवाई नीति नै पुनावलोकन गरी नियामक र सेवाप्रदायक मसते छुट्याएर हवाई सुरक्षामा शून्य सहनशीलता नीति अपनाउन जरूरी भैसकेको छ ।

https://youtube.com/shorts/lo3q7FX5ZKs?feature=share

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००