कवितात्मक गजल

 

खोर्इ ?

तिम्ले जिन्दगीभर एउटा रूख सम्म त रोपेनौ, भएका ढलायौ, काम चलायौ, कला खोपेनौ । सुत्ने, उठ्ने, खानेस चिल्लो भएर अफिस जाने, प्रकृतिका लाखौं मौकाहरू गए किन छोपेनौ ? देखासिकीमा जीवन बितायौ, भ्वाङहरू छेकेनौं, शब्दशब्द केलायौ गालीमा, ज्ञान लेख्दै लेखेनौ । तिम्रो जीवन हतारको यात्रा, असरल्ल जताततै, सम्भावना हजार थिए मरे, शवहरू किन देखेनौं ? तिम्ले एउटा टोपी सिएनौ, बजार गई किन्यौ, आफ्नो भूगोल,धर्ती जानेनौ, बरू कुबाटो हिन्यौ । संस्कृति र संस्कार छोड्दै, बरू परम्परा तोड्दै, मिठै खायौ, राम्रै लायौस पौरख कहिल्यै चिन्यौ ? बिना मेहनत सपनाका अग्लाअग्ला डाँडा चढ्यौ, आधार छैन हचुवामा लमकलमक अघि बढ्यौ । रटेर बिरन्तरी भाषा, स्वर्ग छोड्न पो अत्तालियौ, वीर गाँथा, कथा व्यथा, पूर्वज कहिल्यै पढ्यौ ? अनेक तर्कना र बाहनामा सोझासाझाहरू छलायौ, खाटा बसेका घाउमा, नुन खुर्सानी छर्केर जलायौ । सूचीकार, मिजार, कुमालहरूको पसिनाको देशमा, तिम्ले भाटी, कल अनि सियोधागो कहिल्यै चलायौ? तिम्लाई शौचालय पनि टाढा भयो, मोटरबाटो खन्यौ, तिम्रो समय कति सस्तो भो, वाईफाई जोड्छु भन्यौ । अहिले दुःखका दिनहरू बिर्सियौ, सुखकामात्र गन्यौ, अरूलाई यसोउसो भन्यौ, कहिल्यै उदाहरण बन्यौ ? खनीखोस्री सुन फल्दथ्यो, त्यसै उजाड छ धरती, बाआमा डाँडापारीका जून, उनैमाथि थोपर्छौ अर्ती । हे आमाका सपूत हामी, पल्टाउँ इतिहासका पाना, मन पगालौं, शुद्ध गरौं, निस्कनेछ विकार जर्ति ।

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००