मुद्रा प्रसार र डलरको चौतर्फी प्रभाव

  • भोजेन्द्र बस्नेत (२०७२ चैत १८ गतेको कारोबार राष्ट्रिय दैनिकमा)

 

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलरले अत्यन्तै प्रभावशाली मुद्राको रुपमा स्थान लिँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा बजारमा संयुक्त राज्य अमेरिकाको मुद्रा ‘यूएस डलर’ को प्रभाव र पहुँच अत्यधिक रहेकोले यसमा आउने सामान्य उत्तारचढावले नै विश्व अर्थतन्त्रलाई नसोचेको दिशामा मोड्न सक्दछ । अन्तर्राष्ट्रिय अल्पकालीन वित्तीय बजारमा मुख्यतय यूएस डलर, सुन र पेट्रोलियम पदार्थको मूल्यका आधारमा लगानी निर्देशित भइरहेको हुन्छ । धितोपत्र तथा कमोडिटिज मार्केटको पनि महत्वपूर्ण भूमिका हुन्छ तर लगानीको गन्तव्य निर्धारण गर्ने महत्वपूर्ण आधारमा बस्तु बजारमा पेट्रोलियम, सुन र कच्चा तेल हुन् भने मुद्रा बजारमा यूएस डलर नै निर्णयक मुद्रा हुने गरेको छ ।

 

सञ्चित मुद्राको रूपमा डलर

 

 यूएस डलर अन्तर्राष्ट्रिय बजारमा बढी शक्तिशाली र प्रभावशाली हुनुको मुख्य कारण यसलाई अधिकांश देशहरूले विदेशी विनिमय सञ्चितिको माध्यमको रुपमा सहर्ष स्वीकार्नु नै हो । डलर बस्तु तथा सेवाको कारोबारका लागि विश्वव्यापी रुपमा स्वीकारयोग्य भएकोले यसलाई ‘हार्ड करेन्सी’ या ‘सेफ–हेभन करेन्सी’ को रूपमा पनि लिइन्छ । विकिपेडियाका अनुसार सन् १९९५ मा विश्व अर्थतन्त्रमा विनिमय सञ्चितिको रुपमा यूएस डलरको हिस्सा ५९ प्रतिशत रहेकोमा बढेर अहिले ६५ प्रतिशत पुगेको छ । विश्व बजारमा यूएस डलरको दैनिक कारोबार हिस्सा ८७ प्रतिशत छ । यसले डलरको हस्तक्षेपकारी प्रभाव देखाउँछ । डलरपछि सञ्चित मुद्राको रुपमा प्रयोग हुने दोस्रो मुद्रा यूरो छ जसको हिस्सा डलरको तुलनामा तीन गुणा कम छ । सन् १९९९ मा १७.९ प्रतिशत युरो प्रयोग भएकोमा अहिले यूरोको हिस्सा २२ प्रतिशत छ । दैनिक कारोबार हिस्सा भने ३३ प्रतिशत छ । विगतमा जर्मन मार्क तथा फ्रेन्च फ्रैंक समेत नगन्य रुपमा विनिमय सञ्चितिमा प्रयोग गरिए पनि सन् २००० यता प्रयोग देखिँदैन । बेलायतको मुद्रा पाउण्ड स्टर्लिङ, जापानी यानको पनि ४ प्रतिशत हाराहारीमा सञ्चित मुद्राको रुपमा प्रयोग छ । क्यानडियन डलर, अष्ट्रेलियन डलर, स्वीस फ्रैंकको हिस्सा १ प्रतिशत हाराहारी छ भने अन्य मुद्राको हिस्सा ३ प्रतिशत छ । विश्व अर्थतन्त्रमा एकल मुद्राको बर्चश्व कहिलेसम्म रहिरहला भन्नेमा अर्थशास्त्रीहरुको मतैक्यता छैन । यद्यपि मुद्राको स्थिरता र विश्वासनीयता, सञ्जाल बिस्तार, सहज अबलम्बन प्रणाली जस्ता विविध कारणले तत्कालै यूएस डलरको प्रयोग र प्रभाव कम भइ हाल्ने भरपर्दो आधार भने छैन ।

 

मुद्राको विश्वासनीयता र स्वर्णमान

 

सुरु–सुरुमा विश्वासनीयताको लागि मुद्राको मूल्यलाई सुन तथा चाँदीजस्ता मूल्यवान धातुमा सञ्चित तथा रुपान्तरित गरिन्थ्यो । जथाभावी मुद्रा आपूर्ति गरेर अर्थतन्त्रमा जोखिम ननिम्त्याइयोस भन्ने हेतुले पैसा छपाई नियन्त्रण एवं विश्वासनीयता कायम गर्न जति मुद्रा छापिन्छ त्यति नै मूल्यको धातु सञ्चित गरेरमात्र मुद्रा निष्कासन गर्न सकिने व्यवस्था थियो । स्वर्णमानमा आधारित (गोल्ड स्ट्याण्डर्ड) यो व्यवस्था सन् १९०० देखि १९७१ सम्म प्रचलनमा रह्यो । यसबीचमा सुनको सञ्चिति बढाउन सिभिल वार, विश्व युद्ध तथा विभिन्न समयमा मन्दीहरूमा मुद्रा र सुनको सम्बन्ध अस्थायी रुपमा टुटाइयो र मूल्य सञ्चयबिनै मुद्रा छापियो । १९७१ को ब्रिटन उड्स पद्दति समाप्तिपछि जब अमेरिकाले सुनको मूल्यअनुसार अमेरिकी डलरको मूल्य निर्धारण हुने परिपाटी हटायो तबदेखि मुद्राको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुन सुरू भयो । यूएस डलरको सन्दर्भमा राष्ट्रपति निक्सोनले स्वर्णमान व्यवस्था हटाएका थिए । स्वर्णमान कायम गर्दा आवश्यक मात्रामा मुद्रा आपूर्ति गर्न नसकिएको जनाउँदै भियतनामलगायत विभिन्न युद्धमा बजेट बढाउन अमेरिकाले बिना मूल्यको पैसा छाप्न सुरु गरेको हो । त्यसपछि विश्वमा मूल्यहीन मुद्रा ‘फिएट मनी’ को बर्चश्व बढ्दै गयो भने मुद्रा छपाईको खुकुलो व्यवस्थाले अर्थतन्त्रमा मुद्रा आपूृर्ति असन्तुलन भएसँगै विभिन्न उत्तारचढाव र संकट निम्तिए । सन् १९७० को दशकको मन्दी, २००८–०९ को वित्तीय संकट, केही वर्षअघिदेखिको यूरोजोन ऋण संकटजस्ता परिदृष्य यसैका उपज हुन् । यस्तो संकटले कतिपय मुलुकका स्थानीय मुद्रा नै इतिहास बन्न पुगे भने कतिपय मुलुकका मुद्रा संकटमा परेका छन् ।

 

"इतिहासमा धेरै मुद्रा सुनचाँदीबाट सञ्चित गरिएका थिए तर अहिलेको बिनामूल्यको मुद्राफिएट करेन्सी’ केवल कागजमात्र हो । यस्तो मुद्राको कानुनी बैधता त हुन्छ तर मूल्य सञ्चिति नगरिएकोले विश्वासनीयता गुमायो भने मूल्यहीन हुन पुग्दछ । त्यसैले डलरमात्र होइन विश्वकै मुद्राको मूल्य स्थिरता अहिले पेचिलो सवाल छ । यसप्रति चासो र चिन्ता जाहेर गर्दै अर्थशास्त्रीले पुनः गोल्ड स्ट्याण्डर्डमै फर्कनुपर्ने तर्क अघि सारेका छन् ।"

 

डलरको उत्तारचढावको विश्वव्यापी असर

 

संसारका धेरैजसो देशले विश्व बजारमा कारोबार गर्न यूएस डलर सञ्चित गर्ने गर्दछन् । विदेशी विनिमय सञ्चितिको आधार तथा वैदेशिक व्यापारको भुक्तानीको माध्यमका रुपमा डलरले स्थान लिँदै गएकोले यसको महत्व झन्झन् बढ्दै गएको छ । यसका अतिरिक्त मूल्यहीन र विश्वासनीयता कायम गर्न नसकेकोले संसारबाटै लुप्त भएका मुद्राको विकल्प पनि डलर नै हो । धान्नै नसक्ने मुद्रास्फीतिका कारण क्षमता गुमाउँदै गएर पछिल्लो समय अर्थतन्त्रबाटै बाहिरिएको जिम्माबेको पैसा होस् या चरम अवमूल्यन भएका मुद्रा हुन्, यूएस डलरनै विकल्प बनेको छ । आफ्नो मजबुत मुद्रा हुने दर्जनौं मुलुकहरुले समेत राष्ट्रिय मुद्राकै रुपमा डलरको प्रयोग गरिरहेका छन् । क्यानडा र मेक्सिको तथा अन्य धेरै पर्यटकीय गन्तव्य मुलुकमा अमेरिकी डलरको बर्चश्व नै छ । अन्तर्राष्ट्रिय व्यापारको भुक्तानीको मुख्य आधार डलर नै बनेको छ । त्यसैले प्रयोगको हिसाबले पनि यूएस डलरको सामान्य उत्तारचढावले विश्व अर्थतन्त्रमा उथलपूथल ल्याउनु स्वभाविक छ ।

 

dollar1.JPG

 

विश्व अर्थतन्त्रमा पैसा

 

मौद्रिक सिद्धान्तले कागजी नोट तथा सिक्कालाई मात्र पैसा भन्दैन । विनिमयको काम गर्नसक्ने जुनसुकै स्वरुपलाई मुद्राको रुपमा लिनुपर्ने हुन्छ । विश्व अर्थतन्त्रमा यति नै पैसा छ भनेर ठ्याक्कै लेखो लाउन नसकिए पनि मोटामोटी तथ्यांक अनुमानित छ । विश्वका सबै मान्छेको सामूहिक धन जोड्ने हो भने २४ सय खर्ब डलर हुने अनुमान छ । सजिलोको लागि पैसाको दायरा र गणनालाई चार भागमा वर्गीकरण गर्ने गरिएको पाइन्छ ।

 

एम जिरोः एम जिरो अर्थात् मुद्राको संकुचित परिभाषा जसले सार्वजनिक रुपमा चलनचल्तीमा रहेको वास्तविक मुद्रा एवं बैंक नोट तथा सिक्कालाई इङ्गित गर्दछ । यस्तो मुद्रा ६० खर्ब डलर रहेको अनुमान छ । यसमध्ये कागजी नोट एवं सिक्काको स्वरुपमा २० खर्ब यूएस डलर विश्व अर्थतन्त्रमा सर्कुलेशनमा रहेको अनुमान छ जुन अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पूर्णरुपमा स्वर्णमान कायम नगरी बजार पठाएको नाममात्रको मुद्रा हो ।

 

एम वानः सबै भौतिक पैसा जसलाई एम वान नोटेसन अर्थतन्त्रमा यसको मात्रा २५० खर्बभन्दा बढी रहेको अनुमान छ । जसमा एम जिरोका अतिरिक्त डिमान्ड डिपोजिट समेत समावेश गरिएको हुन्छ ।

 

एम टूः एम वान का अतिरिक्त बचत खाताको पैसा समेत जोडेर निकालिन कूल पैसालाई ‘एम टू’ नोटेशन गरिन्छ । पैसा र यसको नजिकको प्रतिस्थापन, घरेलु तथा आवधिक बचत (जसलाई क्वासी मनी या टर्म डिपोजिट पनि भनिन्छ) समेत समावेश गरिने यसको मात्रा ६०० खर्ब डलर भएको अनुमान छ ।

 

एम थ्रीः मुद्राको माथिल्लो मापन विधि एम थ्रि (जसलाई अहिले कमै मुलुकहरुले मात्र गणना गर्दछन् र जुन मुद्रा बढी भाववाचक हुन्छ), यस्तो रकम ७५० खर्ब डलर भएको अनुमान छ । यसभित्र ‘एम टू’ ले समावेश गर्ने पैसाका अतिरिक्त बृहत मात्राको जम्मा, संस्थागत बजार कोष, छोटो अवधिको खरिद सम्झौतालगायत ठूलो मात्रामा तरल सम्पत्ति यसमा गणना गरिन्छ ।

 

मूल्य गुमाउँदै छ 'मुद्रा'

 

मूल्य सञ्चय गर्न सजिलो माध्यमको रुपमा बहुमूल्य धातुलाई लिइन्छ । मुद्रालाई स्वर्णस्तर कायम गर्दादेखि नै सुन र कुनै पनि मुलुकको मुद्राबीच प्रत्यक्ष सम्बन्ध छ । सुन र चाँदीलाई सजिलै मुद्राको मूल्य धारण गर्नसक्ने भएकोले मुद्राको यी धातुसँग गहन सम्बन्ध हुन पुगेको हो । विगतमा प्रतियूनिट मुद्राको मूल्य सुनचाँदीको मूल्यको आधारमा तय हुने गरेकोले मुद्राको मूल्य स्थिर राख्न सहज थियो । यद्यपि, सुनको सञ्चिति बढाउन विश्व युद्ध, सिभिल वार तथा विभिन्न समयको मन्दीमा अस्थायी रुपमा सम्बन्ध छुटाइयो । सन् १९७१ देखि जब मुद्राको सुनसँगको सम्बन्ध स्थायी रुपमै हटाइयो तब सुन र मुद्राबीच नयाँ सम्बन्धको विकास भयो । त्यसयता अधिकांश मुलुकको मुद्रा सरकारको प्रत्यक्ष नियमन तर भौतिक बस्तुको रुपान्तरित मूल्यबिनै चल्न थाल्यो । यसको कारण कुनै पनि मुलुकसँग सुनको सीमित आपूर्ति रहनु थियो । त्यसपछि अमेरिकी डलर कुनै जोखिम बहन नगरिकनै सञ्चितिमा राखिने र अन्तर्राष्ट्रिय विनिमयको हुकुमी मुद्रा बन्न पुग्यो । डलर सुनको बन्धक समेत बन्नु नपरेकोले सुनको भाउको आधारमा डलरले आफैंले आफ्नो मूल्य घटबढ गर्नुपरेन । त्यसपछि डलरसँग सुनको मूल्य सम्बन्ध उल्टो देखियो । डलर कमजोर हुँदा सुन सञ्चिति बढाइने र मजबुत हुँदा बिस्तारै डलरतिर लगानी सर्ने कारण डलर र सुन विपरीत सम्बन्धमा चल्ने गर्दछन् । यद्यपि सँधै यो क्रम रहनुपर्दछ भन्नेचाँहि हैन । जे भए पनि मुद्राको चलनचल्तीको भाउबराबरको सुन सञ्चित नराखी पैसा छाप्ने खुकुलो नीतिले अहिले मुद्रा संकटमा पर्ने परिस्थितिलाई बढावा दिएको छ ।

 

नेपाली अर्थतन्त्रमा डलर मजबुतीको प्रभाव

 

डलरमा मूल्य कायम हुने बस्तुको मूल्य सँधै डलरसँग उल्टो सम्बन्ध राख्ने हुन्छ । कुनै मुलुकले सञ्चित विदेशी मुद्राबाट अन्य मुलुकको मुद्रा सटही नगरी आयात, निर्यात गर्नसक्ने र स्थानीय मुद्रासमेत सटही गर्नु नपर्ने भएकोले लागत समेत कम पर्दछ । नेपालको घरेलु मुद्रा नेरुको मूल्यमा उत्तारचढाव आन्तरिक अर्थतन्त्रमा मात्र निर्भर छैन । यहाँको मुद्रा त्रिपक्षीय चंगुलमा छ । विनिमय सञ्चितिको रुपमा यूएस डलर छ, नेरुमा प्रभाव राख्ने महत्वपूर्ण मुद्रा भारतीय मुद्रा (भारु) हो । भारुसँग नेरुको विनिमयदर स्वतन्त्र छोडिएको छैन् । सन् १९९३ देखि नै स्थिर (पेगिङ) रहेको नेरुको एक भारु बराबर १.६ नेरु विनिमयदर तोकिएको छ । भारतसँग दुई तिहाईभन्दा बढी व्यापार हिस्सा रहेको तथा विनिमयदर स्थिर रहेकोले भारुको अन्य मुद्रासँगको विनिमयद दर नै नेरुको डलरसँगको सम्बन्धको निर्णायक छ । सन् २००७ मा यूएस डलरसँगको औसत विनिमयद दर ७०.२० रहेकोमा अहिले १०६ हाराहारीमा छ । डलरसँग भारु कमजोर भएकोले नेरू पनि सस्तिने क्रम छ । डलर अधिमूल्यन र नेरू अबमूल्यन हुँदा नेपाललाई फाइदा छैन किनकि हाम्रो अर्थतन्त्र आयातमुखी छ । घरेलु मुद्रा सस्तो हुँदा निर्यातबाट फाइदा लिन सकिने भए तापनि उर्जा संकट, उच्च ज्याला तथा लागतका कारण यहाँको उत्पादन प्रतिस्पर्धी छैन । डलरको भाउ जति बढ्दो छ त्यति नै आयात महँगो हुँदै जानेछ । डलरको अधिमूल्यनले पेट्रोलियमको भाउ समेत बढाउँछ । यसले मूल्यबृद्धिमा चाप पर्नेछ । त्यसैगरी विदेशी कम्पनीसँग गरिएका डलरमा खरिद सम्झौता एवं मुलुकको ऋण भुक्तानी महँगो हुन जान्छ । नेपाल रेमिट्यान्स प्राप्तकर्ता मुलुक भएकोले यस पाटोमा भने डलरको भाउ बृद्धिको सकारात्मक असर छ ।

 

स्थिरताको विश्वव्यापी सवाल

 

इतिहासमा धेरै मुद्रा सुन तथा चाँदीबाट सञ्चित गरिएका थिए तर अहिलेको बिनामूल्यको मुद्रा ‘फिएट करेन्सी’ केवल कागजमात्र हो । यस्तो मुद्राको कानुनी बैधता त हुन्छ तर भौतिक बस्तुबाट मूल्य सञ्चिति नगरिएकोले विश्वासनीयता गुमायो भने मूल्यहीन हुन पुग्दछ । अहिलेका सबैजसो मुद्रा यस्तै कोटीमा पर्दछन जसको सम्पत्ति सुरक्षणको मूल्य छैन । सन् २००८ को वित्तीय संकटपछि विश्वका धेरै केन्द्रीय बैंकहरूले आफ्नो मुद्रालाई अवमूल्यन गर्ने नीति अख्तियार गरेका छन् । मुद्राको विषयलाई लिएर अमेरिका तथा चीनबीच अप्रत्यक्ष युद्ध नै चलेको छ । यसको मुख्य कारण अमेरिकी डलरको भविष्यको चिन्ता नै हो । दीर्घकालमा यूएस डलर नै विश्वमा प्रभावशाली रहिरहला भन्न सकिने आधार छैन । फेडको अध्ययनले नै डलरमाथि प्रश्न उठाएको छ । त्यसैले यूएस डलरमात्र होइन विश्वकै मुद्राको मूल्य स्थिरता अहिले पेचिलो सवाल र बहसको विषय छ । यसप्रति चासो र चिन्ता जाहेर गर्ने अर्थशास्त्रीले जोखिम न्यूनीकरण गर्न मुद्रामा पुनः पूर्णरुपमै स्वर्णमानमा (गोल्ड स्ट्याण्डर्ड) फर्कनुपर्ने बलियो तर्क समेत अघि सारेका छन् ।

 

dollarko-prabhav

 

http://np.karobardaily.com/2016/03/80171/

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००