कोरोना भाइरस फैलिन नदिन भन्दै विश्वका विभिन्न मुलुकले अपनाएको बन्दाबन्दी (लकडाउन) को रणनीति नेपालले पनि १२० दिन अपनाएर अन्त्य गरेको छ ।
नेपाल सरकारले वि.सं २०७७ साउन ६ गते राति १२ बजेदेखि बन्दाबन्दी हटाएको हो । विश्व स्वास्थ्य संगठनले कोभिड १९ रोगलाई महामारी घोषणा गरेपछि नेपालले २०७६ चैत ११ गतेदेखि मुलुकलाई पूर्णरूपमा बन्दाबन्दीमा राखेको थियो ।
नेपाल जोखिमबाट पूर्णरूपमा मुक्त भएर बन्दाबन्दीको अवस्थाबाट निस्किएको भने होइन । लामो समयको बन्दले आर्थिक गतिविधि एवम् रोजिरोटी ठप्प हुनुका साथै अर्थतन्त्रका धेरैजसो क्षेत्रहरू धरासायी हुने अवस्थामा पुगेपछि अरूजस्तै नेपाल पनि बन्दाबन्दीबाट पछि हट्नुपर्ने बाध्यतामा पुगेको हो ।
यस्तो छ संक्रमणको अवस्था
बन्दाबन्दी हटाइएको भोलिपल्ट २०७७ साउन ७ गते एकै दिन थप १०० जनासहित (३८०० हाराहारी परीक्षण) नेपालमा कोरोना भाइरसबाट संक्रमितत हुनेको कूल संख्या १८ हजार ९४ पुगेको छ । यस दिन भाइरसका कारण थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४२ पुगेको छ भने १२ हजार ६ सय ४८ जना निको भएर घर फर्किएका छन् । (स्वास्थ्य मन्त्रालय)
यस तथ्यलाई विश्लेषण गर्दा नेपालमा मृत्युदर भने न्यून अर्थात् (१ प्रतिशतभन्दा तल) नै देखिन्छ । निको हुनेको संख्या कूल संक्रमितको ७० प्रतिशत रहेको छ ।
अर्थतन्त्र बचाउने कि जनतामा, आ-आफ्नै मोडेल !
कोरोना भाइरसपछि सिर्जना भएको यो नयाँ बहस विश्वकै लागि कठिन परिस्थिति हो । खासगरी पूँजीबादी देशहरू जो उद्योग र व्यापारमा निर्भर रहेका थिए, उनीहरूलाई अर्थतन्त्र टाट पल्टिनबाट जोगाउन पनि बन्दको विकल्पमा जानू बाध्यता रह्यो । अमेरिकाजस्तो पूँजीबादी देशहरूको नेतृत्वकर्ता एवम् समृद्धिको शिखरमा पुगेको मुलुकले भाइरसलाई बेवास्ता गरेर अर्थतन्त्रलाई खुला राख्ने कदम अघि बढाउँदै गयो । उसले अर्थतन्त्रमा कम क्षति व्यहोर्नुपरे पनि उसको लागि मानवीय क्षति भने महँगो पर्न गएको देखिन्छ ।
न्यूजिल्याण्ड, दक्षिण कोरिया, चीन, जापानजस्ता देशहरूले संक्रमण देखिएका स्थानमा परीक्षणको दायरा तत्काल बढाएर छोटो समयमै आर्थिक गतिविधिलाई चलायमान गराई मानवीय तथा आर्थिक दुवै क्षति घटाउन सफल भए ।
कोरोना भाइरसको अधिक मानवीय क्षति यूरोपले बेहोर्नुपरेको छ । इटाली, स्पेनजस्ता देशहरूमा दिनमै हजार मान्छेले ज्यान गुमाउन पुगे । बेलायत र भारतजस्ता मुलुकहरूले भने बन्दाबन्दीलाई नै बढी जोड दिँदै मान्छेको आवतजावत र भेटघाट नियन्त्रण गरी मानवीय क्षति न्यूनीकरण गर्न केही हदसम्म सफल भए । ब्राजिललगायतका कतिपय देशहरूमा उच्च संख्यामा भाइरस संक्रमित रहे पनि उनीहरू अमेरिकाजस्तै पेलेर जाने रणनीतिमा लागेको देखिन्छ ।
विश्वका अधिकांश मुलुकजस्तै नेपाल पनि अर्थतन्त्र बचाउने कि जनता भन्ने सवालमा कुनै एउटा पक्ष लिनसक्ने अवस्थामा रहन कठिन भयो । नेपालले सुरूवाती दिनहरूमा निकै सजगता अपनाई कठोर कदम चाल्यो । यसबीचमा अन्य देशसँग सम्पर्क विच्छेद गर्नेदेखि सीमा नाकाहरूमा कठाइँ पनि गरियो । चीनलगायत विश्वका विभिन्न मुलुकहरूबाट स्वास्थ्य सामाग्री खरिद गरी उपचार तथा परीक्षणलाई बढाउँदै लगियो । धेरैलाई क्वारेन्टाइन र उपचारको व्यवस्थापन गर्दा राज्यकोषले धान्न नसक्ने र मुलुक नै टाट पल्टिनसक्ने अवस्था देखेपछि उच्च सावधानीका साथ गतिविधिहरू खुलाउनुपर्ने मानसिकतामा सरकार पुगेको देखिन्छ ।
बन्दाबन्दी हटे पनि सबै क्षेत्र खुलेन
सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरे पनि केही क्षेत्रहरूलाई अझै पूर्णरूपमा नखोली क्रमशः खोल्दै जाने रणनीति अख्तियार गरेको पाइन्छ । यसले जोखिम पक्ष स्वीकार गरिएको अवस्था चित्रण गर्दछ ।
होटल तथा रेष्टुरेन्टहरू साउन १५ गतेदेखि मात्र सञ्चालनमा ल्याइनेछ भने आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा भदौ १ गतेबाट खुला हुनेछन् ।
सामूहिक भेला, भोजभतेर, पार्टीजस्ता गतिविधि गर्न अझै दिइने छैन भने भीडभाड गर्न पनि रोक लगाइएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन भने रोकिएको छैन । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ बाट गर्न दिइनेछ ।
संक्रमण नघट्दै बन्दाबन्दी खोल्दाको जोखिम
तथ्याङ्कलाई केलाएर हेर्ने हो भने कोरोना भाइरसको संक्रमण दर खासै घटेको देखिँदैन । भाइरस समुदायस्तरमै फैलिसकेकोले परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमितको संख्या अझै बढ्नसक्ने देखिन्छ ।
अर्को जोखिम के छ भने लामो समयको बन्दका कारण उकुसमुकुस मान्छेहरू एकैचोटि जुर्मुराए अनि सावधानी अपनाएनन् भने यसले भयावह स्थिति निम्तनसक्ने अवस्था पनि छ । विज्ञहरू बन्दाबन्दी पूरै हटाउने बेला नभएको भन्दै संक्रमणको अर्को लहर फैलनसक्ने चेतावनी पनि दिइरहेका छन् ।
अर्को महत्वपूर्ण कुरा बन्दाबन्दी सुरू हुँदा त्यसको औचित्य खासै पुष्टि गर्न नसिकएको अवस्था थियो भने हटाउँदा पनि त्यस्तै अवस्था रहेको छ । भाइरसको संक्रमण रोकिएर बन्दाबन्दी हटेको हो भन्ने भ्रममा समुदाय पर्न गयो भने स्थिति अझै भयावह हुने निश्चित छ ।
महामारी भनेकै यस्तो डरलाग्दो रोग हो जसले छोटो समयमै ठूलो क्षति गर्न सक्छ । महामारीले रातारात सोत्तर पारेको इतिहास रहेकोले सानो त्रुटि र असावधानीले ठूलो क्षति निम्तनसक्ने अवस्था रहन्छ । त्यसैले कसैले पनि यसको नजरअन्दाज गर्नु ठूलो भूल हुन सक्नेछ ! सावधान !
प्रकाशित मितिः २०७७ साउन ७ गते
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्