सन् २०२० मा कोभिड-१९ रोगको महामारीका कारण विश्वकै अर्थतन्त्र जर्जर अवस्थामा पुगेको छ । कृषिमा निर्भर मुलुकहरूभन्दा ओद्योगिक निर्यातमा आधारित अर्थतन्त्रहरू अझ प्रताडित बन्न पुगेका छन् ।
अन्तराष्ट्रिय मुद्रा कोषले यस वर्ष विश्व अर्थतन्त्रको वृद्घिदर नकारात्मक हुने प्रक्षेपण गरेको छ । भाइरसका कारण अधिकांश मुलुकमा आर्थिक गतिविधिहरू ठप्प रहेका कारण ती मुलुकहरूको अर्थतन्त्र मन्दीमा गएको छ । विश्वकै अग्रणी अर्थतन्त्र भएका अमेरिका, चीन, जापान, जर्मनी, भारत, फ्रान्स, बेलायत, इटाली, ब्राजिल, क्यानडा, रूस, दक्षिण कोरियालगायतका मुलुकहरूले पनि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।
चीनलगायत कतिपय मुलुकहरूले आफ्ना ओद्योगिक उत्पादनलाई स्वास्थ्य सामाग्रीमा केन्द्रित गरी अर्थतन्त्रलाई जोगाउने प्रयास गरिरहेका छन् । जसले जे जति प्रयास गरिरहे पनि आवतजावत नियन्त्रणका कारण सेवा क्षेत्र सबैभन्दा प्रताडित बनेको छ । हवाई सेवा, पर्यटन, होटल तथा रेष्टुरेन्टजस्ता सेवाहरू पूर्णरूपमा बन्द छन् । प्रयासहरू जारी रहेका तर कोभिड-१९ को खोप आइहाल्ने अवस्था नदेखिएकोले अर्थतन्त्र तथा जनस्वास्थ्यमा भाइरसको असर कतिसम्म रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
कोभिड-१९ का कारण संसार जति परोलिएको छ, यसको असरबाट नेपाल पनि अछुतो रहने कुरा भएन । नेपालको कूल ग्राहस्थ उत्पादनको ५८ प्रतिशत हिस्सा रहेको सेवा क्षेत्र जर्जर अवस्थामा छ । नेपालले विदेशी मुद्रा आर्जन गर्ने वैदेशिक रोजगार, पर्यटनजस्ता क्षेत्रहरू प्रभावित भएका छन् । यससँग निर्भर हुने होटेल तथा रेष्टुरेन्ट, हवाई उद्योग, पर्यटनसँग सम्बद्ध सम्पूर्ण उद्योग तथा व्यवसाय धरासायी हुन पुगेका छन् ।
यसका बाबजुत पनि व्यापार घाटालगायत अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारले आर्थिक वर्ष २०७६/७७ मा अर्थतन्त्रका अधिकांश परिसूचकहरू सकारात्मक देखिएका छन् । आर्थिक वृद्धिदर खुम्चिए पनि अर्थतन्त्रमा औद्योगिक योगदान कम र कृषि क्षेत्रको टेवा रहेकोले जटिल समस्या भइहाल्ने देखिएको छैन । यद्पि भाइरसको असर लम्बियो भने आउँदा दिनहरूमा उद्योग तथा व्यवसायहरू पूर्णरूपमा बन्द भई अर्थतन्त्रको वृद्घिदर शून्य हुँदै नकारात्मकमा झर्ने र मुलुक गम्भीर आर्थिक मन्दी र समस्यामा फस्न सक्नेछ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक अवस्था
- आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको केन्द्रीय तथ्याङ्क विभागको अनुमान । कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको अनुमान ।
- कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.६५, उद्योगको १४.२७ र सेवा क्षेत्रको अंश ५८.०८ प्रतिशत रहेको ।
- कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत पुगेको । कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत रहेको ।
- कुल जलविद्युत उत्पादन ११.५० प्रतिशतले वृद्घि भई १३१८.२ मेगावाट पुगेको ।
- वार्षिक औसत मुद्रास्फीति (उपभोक्ता मूल्य वृद्घिदर) ६.१५ प्रतिशत रहेको ।

बाह्य क्षेत्र तथा विभिन्न परिसूचकहरू
- आयात १५.६ प्रतिशतले घटेर रु.११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको, निर्यात ०.६ प्रतिशतले बढेर ९७ अर्ब ७१ करोड पुगेको । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले र निर्यात १९.४ प्रतिशतले बढेको थियो । कूल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई रु.१० खर्ब ९९ अर्ब ९ करोड (व्यापार घाटाको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत) कायम भएको । अघिल्लो वर्ष ६.८ प्रतिशत रहेको निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको ।
- विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको ।
- वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको (अघिल्लो वर्ष पनि यस्तो संख्या ३२.६ प्रतिशतले घटेको) पुनः श्रम स्वीकृति लिनेको संख्या ३४.७ प्रतिशतले घटेको ।

- चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम भएको, शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको । (राम्रो अवस्था) अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको ।
- विदेशी विनिमय सञ्चिति ११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको जसको प्रयोगबाट १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको । (मजबुत अवस्था)
- २०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.१५ प्रतिशतले अवमूल्यन भएको ।
सरकारी वित्त स्थिति
- सरकारको कूल बजेट खर्च = १० खर्ब ९४ अर्ब ३४ करोड १६ लाख (७१.३८% खर्च भएको)

- सरकारको कूल आम्दानी = ८ खर्ब ५९ अर्ब ७८ करोड ८ लाख रुपैयाँ
- राजश्व आम्दानी = ७ खर्ब ९३ अर्ब ७८ करोड ४३ लाख (कर ७ खर्ब ५ करोड ४८ लाख, गैरकर ९३ अर्ब ७२ करोड ९५ लाख)
- चालु खर्च = ७ खर्ब ७० अर्ब ५४ करोड ४८ लाख (८२.१८%)
- पूँजीगत खर्च = १ खर्ब ६१ अर्ब ६४ करोड ६५ लाख (४७%)
- वित्तीय व्यवस्थापन खर्च = १ खर्ब ०६ अर्ब १८ करोड (६९.१३%)
- वैदेशिक अनुदान = १८ अर्ब ४२ करोड (लक्ष्यको ३१.७६% मात्र प्राप्त भएको)
- आन्तरिक ऋण = १६० अर्ब २५ करोड (खुद) (कूल ग्राहस्थ उत्पादनको ४.३%), कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको ।
मौद्रिक स्थिति तथा वित्तीय क्षेत्र
- विस्तृत मुद्राप्रदाय (M2) १८.१ प्रतिशतले बढेको, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १८.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दावी १२.६ प्रतिशतले बढेको ।
- कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको । अघिल्लो वर्ष उक्त कर्जा २१.१ प्रतिशतले बढेको थियो ।
- २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.३८ खर्ब ४० अर्ब र निजी क्षेत्रमाथिको दावी रु. ३२ खर्ब ७७ अर्ब पुगेको ।
- ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका,
- २०७७ असार मसान्तमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका ।
- बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७७ असार मसान्तमा ९७६५ पुगेको ।
व्याजदर (घट्दो अवस्थामा)
- २०७६ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.९७ प्रतिशत रहेकोमा २०७७ असारमा १.२७ प्रतिशत कायम भएको ।
- अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असारको ४.५२ प्रतिशतको तुलनामा २०७७ असारमा ०.३५ प्रतिशत कायम भएको ।
- वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ असारमा ९.५७ प्रतिशत रहेकोमा २०७७ असारमा ८.५० प्रतिशत रहेको ।
- २०७७ असारमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत र कर्जाको औसत ब्याजदर १०.११ प्रतिशत रहेको । २०७६ असारमा यी ब्याजदर दरहरु क्रमशः ६.६० प्रतिशत र १२.१३ प्रतिशत रहेका थिए ।
पुँजी बजार
- २०७६ असार मसान्तमा १२५९ विन्दु रहेको नेप्से सूचकाङ्क २०७७ असारमा १३६२.४ विन्दु पुगेको ।
- २०७७ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड पुगेको ।
- २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.६ प्रतिशत पुगेको ।
प्रकाशित मितिः २०७७ भाद्र ८ गते
थप विवरणका लागि डाउनलोड गर्नुहोस्ः
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदन
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्