सामान्य अवस्था हुँदो हो त प्रमुख पर्यटकीय गन्तव्यमा यतिबेला खुट्टो टेकिनसक्नु पर्यटक हुनुपर्ने हो । खासगरी वसन्त र शरद् ऋतु मुख्य पर्यटकीय सिजन भएकाले यो समय पर्यटकले खचाखच हुने गर्छ । यी २ सिजनमा गरेको आम्दानीले नै यो क्षेत्रमा रोजगारप्राप्त संस्था या व्यक्तिले वर्षभरको खर्च धान्ने गर्छन् । यसबेला नेपालमा पर्यटक ओसार्ने वायुसेवा कम्पनीहरूले पालो नपाएर आकाशमा ३–४ घन्टा होल्ड गर्नुपर्ने अवस्था रहन्छ । आन्तरिक उडान, होटल तथा रेस्टुराँहरू पर्यटकले खचाखच हुने गर्छन् । तर, अहिले झिंगा धपाएर बस्नुपरेको अवस्था हो, कारण २०७२ वैशाखको विनाशकारी भूकम्प । भूकम्पले बन्द नै गरिदिएको अर्थोपार्जनको बाटोमध्ये पर्यटन पनि एक हो, अझ त्यसमा विगत १ महिनादेखि तराई क्षेत्रमा व्याप्त बन्द–हड्तालले आगोमा घिउको काम गरिरहेको छ । समयमै पर्याप्त ध्यान पुग्न नसके पर्यटनको अधोगतिले अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने पक्का छ ।
पर्यटन उद्योगमा भूकम्पीय क्षति
भूकम्पले अन्यत्रजस्तै पर्यटनक्षेत्रमा पनि गम्भीर असर पारेको छ । विभिन्न सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरूमा क्षति पुग्न गएको छ भने भौगोलिक कठिनाइ उत्पन्न गराएको छ । नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत १० मध्ये ७ सांस्कृतिक सम्पदा तथा लोकप्रिय पदमार्गहरू क्षतिग्रस्त भएका छन् । पर्यटन सेवाको आपूर्तिमा अवरोध र पर्यटकले गर्ने खर्चको कमीले आगामी २ वर्षमा ६२ अर्बको नोक्सानी हुने आँकलन गरिएको छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण तथा लाङटाङ क्षेत्र, काठमाडौंको धरहरा, वसन्तपुर एवं भक्तपुर दरबार स्क्वायरलगायत विभिन्न स्थानमा ७० पर्यटकले ज्यान गुमाए भने दर्जनौं घाइते भएका छन् । हराउनेको सूची सयभन्दा लामो छ । सन् २०१५ को मुख्य सिजनमै भूकम्प गएकाले हिमाल आरोहीहरूले नराम्रो क्षति बेहोर्नुप¥यो । अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक लाङटाङमा विपत्तिमा परे भने कार्यक्रम रद्द गरेर धेरै तत्कालै फर्किए । नेपाल आउने तयारीमा रहेका पर्यटकले पनि धमाधम भ्रमण रद्द गरे । भूकम्पलगत्तै नेपाल भ्रमणयोजना बनाएका १० मध्ये ९ पर्यटकले भ्रमण रद्द गरेको देखिन्छ । यसअनुसार २ लाख पर्यटकले कार्यक्रम रद्द गरेकोले १० औं अर्ब आम्दानी गुमेको छ ।
भ्रम र वास्तविकता
भूकम्प गएको अवस्थामा जुन स्थानमा पर्यटकहरूले ज्यान गुमानुप¥यो त्यो अबर परेर र आकस्मिक दुर्घटनाले हुन गयो । त्यस्तो विपत्तिमा पनि सरकारले पर्यटकको उद्धारमा कन्जुस्याइँ गरेन । हिमाल आरोहीहरू पहिरोमा परे, अन्यत्र कोही भवनमा च्यापिए भने कतिलाई भौतिक संरचनाले किच्यो । सबैभन्दा बढी क्षति हिमाली भेगमा बेहोर्नुपरे पनि अन्यत्र त्यति धेरै समस्यामा पर्यटक परेको देखिँदैन । योजना आयोगले तयार गरेको विपद्पछिको आवश्यकता पहिचान (पीडीएनए) प्रतिवेदनका अनुसार भूकम्पले सबैभन्दा बढी सामाजिक क्षेत्रमा ५८ प्रतिशत क्षति गरेको छ । पर्यटनतर्फ प्रभावको ११ प्रतिशतमात्र छ । सरकार भन्छ— नेपालको २० प्रतिशत पर्यटनक्षेत्रमा मात्र भूकम्पले असर पुगे बाँकी सुरक्षित छ । सरकारले उदार र राहतको सजिलोका निम्ति विभिन्न जिल्लाहरूलाई संकटग्रस्त घोषणा गरे पनि सोलुखुम्बुमा धेरै क्षति भए पनि संकटको घोषण नगरिनु पर्यटनकै सवाललाई ध्यान दिएकाले हुन सक्छ । भूकम्पपछि नेपाल असुरक्षित गन्तव्य हो भन्ने सन्देश गएकाले पर्यटक नेपाल आउन हिचकिचाएको पाइन्छ । पर्यटन उद्योगले यति धेरै गुमाउनुमा नकारात्मक प्रचार नै मुख्य कारण हो । सूचना सम्प्रेषणमा ध्यान नपु¥याउँदा यस्तो अवस्था उत्पन्न भएको देखिन्छ । वास्तविकता अर्कै भए पनि नेपाल नै तहसनहस छ भन्ने त्रास फैलिएकाले पर्यटक नेपाल आउन झस्किएका छन् । दोस्रो पर्यटकीय सिजन सुरु हुँदा र सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस नजिकिँदै गर्दा यो भ्रम चिर्ने पहल अपेक्षित छ ।
किन आउँछन् पर्यटक नेपाल ?
सन् १९५१ देखि आधिकारिक रूपमा बाह्य पर्यटकका लागि नेपाल खुला गरिएको थियो । सन् १९५७ मा पर्यटन विकास बोर्डको स्थापना, १९५८ मा नेपाल वायुसेवा निगम, १९५९ मा पर्यटन विभाग स्थापनासँगै नेपाल पर्यटक आकर्षणको केन्द्र बन्दै गयो । 'भिजिट नेपाल–१९९८' ले पर्यटन उद्योगमा दरिलो जग बसाल्यो । हरेक योजना, नीति, कार्यक्रम तथा बजेटमा नेपालले पर्यटनलाई मुख्य क्षेत्रका रूपमा लिँदै गयो । पहिलो योजनादेखि नै पर्यटन विकासतर्फ सरकारको ध्यान आकृष्ट भएको देखिन्छ । अहिलेसम्म नेपालमा १०५ तारे होटल, ६२५ पर्यटकस्तरका होटल, २२६ होमस्टे, १८६० ट्रेकिङ एजेन्सी, २ हजार ५६७ ट्राभल्स एजेन्सी, ६१ ¥याफ्टिङ एजेन्सी, २६ अन्तर्राष्ट्रिय वायुसेवा, १७ आन्तरिक वायुसेवा, ३७ प्याराग्लाइडिङ कम्पनी, ३७ वटा अल्टाइलाइट, ४ स्काई डाइभिङ गरी पर्यटनक्षेत्रमा सक्रिय संघसंस्थाको संख्या ५ हजार हाराहारी पुगिसकेको छ । यी संस्थामार्फत् लाखौंले रोजगारी पाउनु सुखद् कुरो हो ।
नेपालमा धेरै पर्यटक एसिया र पश्चिम युरोपबाट आउने गरेका छन् । त्यसमध्ये भारत र चीन मुख्य छन् । सन् २०१४ मा ७ लाख ९० हजार पर्यटक आएकोमा २ छिमेकी मुलुकबाटमात्र एकतिहाइ संख्यामा थिए । त्यसपछि अमेरिका, श्रीलंका, बेलायत, जापान, अस्ट्रेलिया, थाइल्यान्डलगायतका मुलुकबाट पर्यटक आउने गर्छन् । छिमेकी मुलुकबाट मनोरञ्जन र धार्मिक उद्देश्यले पर्यटक आउँछन् । पर्यटन आकर्षित हुनुमा नेपालको प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महŒव, साहसिक पर्यटन अभ्यास आदि नै मुख्य छन् । पर्वतारोहण, पदयात्रा, चरा हेर्न, माउन्टेन फ्लाइट, रक क्लाइम्बिङ, ¥याफ्टिङ, क्यानोनिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, जंगल सफारी, अल्ट्रालाइट, माउन्टेन बाइकिङलगायतका साहसिक अभ्यास तथा गतिविधिहरू पर्यटकका आकर्षण हुन् । धेरै पर्यटकलाई निकुन्ज तथा आरक्ष, सर्वोच्च शिखर सगरमाथालगायतका हिमश्रृङ्खला, पशुपतिनाथ, लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथजस्ता धार्मिक स्थलहरू, कन्चनजंघा, अन्नपूर्ण, मनास्लु, मुस्ताङ, हुम्ला, डोल्पा क्षेत्रले तान्ने गरेको छ । यहाँ आउनेमध्ये ५० प्रतिशत पर्यटक मनोरन्जन र बिदा मनाउन, १३ प्रतिशत पर्वतीय तथा पदयात्राका लागि, १३ प्रतिशत तीर्थयात्री, २ प्रतिशत सभासमारोह र सेमिनार तथा १६ प्रतिशत प्रयोजन नखुलाई आउने गर्छन् ।
अर्थोपार्जनको मुख्य पाटो
पर्यटन नेपालको प्रमुख रोजगारी र आम्दानीको स्रोत हो । कुल गाहस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको २.६ प्रतिशतमात्र योगदान रहे पनि अप्रत्यक्ष रूपमा धेरैलाई यो क्षेत्रले रोजगारी दिएको छ । आव ०६९/७० मा पर्यटनबाट ३४ अर्ब २१ करोड विदेशी मुद्रा आर्जन भएको थियो । त्यसैगरी आव ०७०/७१ मा ४६ अर्ब ३७ करोड र ०७१÷७२ को पहिलो ८ महिनामा ३४ अर्ब २१ करोड प्रत्यक्ष कमाइ थियो । कुल विदेशी मुद्रा आर्जनमा पर्यटनक्षेत्रले ५.७ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि, आशातीत रूपमा पर्यटकीय लाभ अझै बढाउन सकिएको छैन । सन् २००४ मा औसत १३.५ दिन बस्ने पर्यटक अहिले १२.४ दिनमात्र बस्ने गरेका छन् भने औसत खर्च प्रतिपर्यटन प्रतिदिन ४५.१ अमेरिकी डलर रहेकोमा अहिले ४६.४ डलरमात्र छ । पर्यटन क्रियाकलापको विस्तार, सेवाको गुणस्तर वृद्धि, पर्यटकबाट विदेशी मुद्रा आर्जन बढाउने तथा रोजगारीका अवसरको वृद्धिका लागि गर्नुपर्ने धेरै काम बाँकी छन् ।
पर्यटन उद्योगमा सबैभन्दा जटिल समस्या राजनीतिक अस्थिरता र आन्तरिक कलहले सिर्जना गरेको छ । भूकम्प एउटा बहाना भए पनि सदैव पर्यटकलाई बाधा र सास्ती पुग्ने गतिविधिको खाँचो नभएकाले समग्रतामै अधोगति छ । राजनीतिक अस्थिरता, बन्द–हड्ताल, आन्तरिक कलह तथा असुरक्षाले पर्यटन व्यवसाय थिलथिलो बन्दै गएको छ ।
सन्तोष गर्ने अवस्था छ ?
नेपालको प्राथमिकतामा पर्यटन परे पनि अपेक्षित गति दिनभने सकिएको छैन । पछिल्लो प्रयास हेर्दा सन् २०११ लाई पर्यटन वर्ष र २०१२ मा लुम्बिनी भ्रमण वर्ष मनाइयो । लुम्बिनीको विकासका लागि प्रो. केन्जो टांगेद्वारा निर्मित एवं सन् १९७८ मा तय भएको लुम्बिनी गुरुयोजनाअनुसारको कार्य ५ वर्षभित्र सक्ने लक्ष्यका साथ राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अघि बढाइएको छ । लुम्बिनी क्षेत्रलाई दृष्टिगत गरी भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माणाधीन छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहण भइरहेको छ । नेपाल वायुसेवा निगमका लागि चीनबाट ६ जहाज ल्याइँदैछ भने दुई न्यारो बडी एयरबस सञ्चालनमा आइसकेका छन् । एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा आधुनिकीकरण एवं नयाँ राडार जडान गरिँदैछ । ताप्लेजुङदेखि दार्चुलासम्मको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई ‘द ग्रेट हिमालयन ट्रेल’ को अवधारणामा अघि बढाइएको छ । मुलुकलाई उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यसहित सन् २०२४ सम्ममा वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन गुरुयोजनाको गृहकार्य छ । यस्ता सकारात्मक प्रयासको लाभ विस्तारै प्राप्त होला नै ।
अहिलेसम्मको अवस्था हेर्दा यति सुन्दर र पर्यटक आकर्षणको केन्द्र भएर पनि पर्यटनक्षेत्रलाई उपेक्षा गरिएझैं लाग्छ । भूकम्प एउटा बहाना भए पनि सदैव पर्यटकलाई बाधा र सास्ती पुग्ने गतिविधिको खाँचो नभएकाले समग्रतामै अधोगति छ । राजनीतिक अस्थिरता, बन्द–हड्ताल, आन्तरिक कलह तथा असुरक्षाले पर्यटन व्यवसाय थिलथिलो बन्दै गएको छ । पर्यटन भनेको बजारीकरण, प्रचारप्रसार र सामूहिक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको छैन । तीतो भाषामा भन्दा न सरकार न निजी क्षेत्र त न स्थानीयवासी कसैलाई टाउको दुखेकै छैन । यसैले चीनबाट तिब्बत आउने ४५ लाखभन्दा बढी पर्यटकसमेत नेपालले तान्न सकेको छैन । यही चालाले त पर्यटनमा तिब्बतलाई भेट्न पनि नेपाललाई दशकौं लाग्नेछ ।
अब के गर्न सकिएला ?
सन् २०१४ को पहिलो सिजनमै भूकम्पले पर्यटन उद्योग तहसनहस पारेको छ । भूकम्पपछि बन्द–हड्तालका कारण ह्वात्तै घटेको पर्यटन आगमनलाई पुनर्ताजगी गर्न सामूहिक प्रयासको खाँचो छ । सरकारी तवरबाट विशेष नीति तथा कार्यक्रम लागू गरिनु आवश्यक छ भने सरोकारवालाहरूको रचनात्मक भूमिका अपेक्षित छ । यसमध्ये पनि निजी क्षेत्र, स्थानीयवासी, डायस्पोरा तथा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ । राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिले पर्यटनमा भूकम्पको क्षति आँकलनसँगै पुनर्निर्माण र पुनरुत्थानका काम अगाडि बढाएको भनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत हुने सम्भावना भएका स्थलहरू क्षतिग्रस्त भएपछि आधुनिक निर्माण सामग्रीहरू प्रयोग गरी पुनर्निर्माण गर्दा ती स्थलहरूलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नु चुनौतीपूर्ण छ । उक्त समितिले भर्खरै 'नेपाल : ब्याक अन टप अफ द वल्र्ड' भन्ने सन्देशसहितको प्रवर्धनात्मक लोगो पनि सार्वजनिक गरेको छ । तर, झारामात्र टार्दैमा नेपालमा पर्यटक लर्को लाग्ने छैनन् । त्यसका लागि नेपाल बसाइ सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु नै सबैभन्दा चुनौतीको विषय छ । नेपालमा असुरक्षा रहँदा अन्तर्राष्ट्रिय बिमा कम्पनीले लगानी नगर्ने र विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरी नागरिकलाई भ्रमण नगर्न आग्रह गर्ने कारणले पर्यटक आगमनमा बाधा छ । यस्तो समस्या सुल्झाउन कूटनीतिक तथा डायस्पोराको माध्यमबाट विशेष पहलको खाँचो छ ।
पर्यटन उद्योगमा सबैभन्दा जटिल समस्या राजनीतिक अस्थिरता र आन्तरिक कलहले सिर्जना गरेको छ । राजनीतिक अस्थिरता, बन्द हड्तालका कारण भोग्नुपरेको सास्ती, असुरक्षालगायतका कारण पर्यटनक्षेत्रमा दूरगामी असर परेको छ । यसलाई चिर्न र पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रका रूपमा स्थापित गर्न सजिलो छैन । अहिलेका लागि शान्तिप्रिय मुलुक नेपालमा बढेको कोलाहलपूर्ण अवस्थाको चाँडो अन्त्य गर्नु अपरिहार्य छ । अर्कातिर पर्यटकको बसाइ अवधि लम्ब्याउन र बढीभन्दा बढी पैसा खर्च गराउन विशेष योजना बनाउनु छ । भौतिक पूर्वाधार व्यवस्थापन, सुरक्षामा विशेष ध्यान पु¥याई उनीहरूलाई खुसी तुल्याउन सके पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको नाममा फजुल खर्च गर्नै पर्दैन, पर्यटक आफैं सन्देशवाहक बन्नेछ ।

प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्