बढ्दो ‘फ्रस्टेसन’ र ‘डिप्रेसन’: एक खतरनाक सामाजिक परिदृष्य

बढ्दो ‘फ्रस्टेसन’ र ‘डिप्रेसन’: एक खतरनाक सामाजिक परिदृष्य

बढ्दो 'फ्रस्टेसन' तथा 'डिप्रेसन'का कारण पछिल्लो समय अनपेक्षित घटनाहरू बढ्न थालेका छन् । खासगरी राज्य सञ्चालन प्रणाली, सञ्चारमाध्यमका नकारात्मक प्रस्तुति र सामाजिक सञ्जालका कारण मान्छेमा थप निराशा चुलिन गई विस्मयकारी घटना हुन थालेका हुन् । यसको डरलाग्दो उदाहरण राजधानी काठमाडौंको संसद् भवन अगाडि आफैंले आफैंलाई आगो सल्काएर जलेका प्रेमप्रसाद आचार्य बनेका छन् । २०७९ माघ १० गते संसद् भवन अगाडि जिउमा आगो सल्काएका इलामका आचार्यले भोलिपल्ट यो संसार छोडे । मर्नु समस्याको समाधान हुँदै होइन । यसरी हतास भई ज्यान फाल्नुलाई कदापि राम्रो मान्न सकिन्न । यद्यपि ज्यान समाप्तिको कठोर बाटो रोजेर उनले राज्यलाई दिन खोजेको सन्देश र उठाइएका सवालहरू भने अत्यन्त शक्तिशाली छन् । केही गर्छु भन्ने मान्छेले राज्य प्रणालीको विकारका कारण भोग्नुपरेका समस्या र त्यसले निम्त्याएको दूर्दशा भने देशको निम्ति लज्जाको विषय हो ।

आचार्यले लामो भावुक फेसबुक स्ट्याटस लेखेर आफूले गरेका हरेक प्रयास असफल हुन पुगेको, हरेक ठाउँमा लुटिएको, ठगिएको, कतैबाट सहारा नपाएको र अँध्यारो देखेर अन्ततः यस्तो दुखःद् निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनको जीवनमा आइपरेका दुःख, भुक्त र समस्याले राज्य सञ्चालनमा देखिएको चरम बेथिति र केही गर्न खोज्दा पलपलमा हुने ठगी एवम् शोषणको उजागर गरेको छ । उनले जुन भावना पोखेर गए, त्यो धेरै मान्छेको जीवनसँग मेल खाने यथार्थ कथाव्यथा पनि हो । यसलाई कतिले पचाएर हिडे पनि आचार्यले जीवनसँग हार खान पुगे । आइन्दा कसैले यो नियति भोग्नु नपरोस् !

जनजनमा बढ्दो छ निराशा

मान्छेमा तनाव र निराशा अहिले विश्वव्यापी समस्या बन्न पुगेको छ । नेपालमा मात्र होइन, अन्य सम्पन्न मुलुकहरूमा समेत सामाजिक असन्तुलन बढ्न थालेको देखिन्छ । पश्चिमा मुलुकहरूमा अझ यो अवस्था विकराल हुँदै गएको विश्लेषण गरिएको छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य पाइन्छ भने नेपालमा प्रत्येक दिन १६ जनाले आत्महत्या गर्ने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । त्यसमा पनि युवा किशोरकिशोरी बढी छन् । यसले मान्छेमा तनाव र निराशाको डरलाग्दो अवस्था इङ्गित गर्दछ । यसका पछाडि कैयौं कारणहरू हुनसक्लान । तिमध्ये मानसिक स्वास्थ्य समस्यालाई प्रमुख कारण ठानिएको छ । मानसिक स्वास्थ्य धेरै हदसम्म हामी बाँचेको वातावरणमा नै निर्भर हुन्छ होला !        

मान्छेका जीवनमा धेरै उतारचढावहरू हुने गर्दछन् । तिनै आरोहअवरोहले नै मान्छेलाई परिपक्व र बलियो बनाउने गर्दछ । भनिन्छ नि घामपानी खपेको मान्छे नै बलियो हुन्छ । तर अहिले समाजको स्वरूप बद्लिँदै गएको देखिन्छ । नेपालकै सन्दर्भमा पनि सामाजिक पूँजीको बलियो आधारइलाका गाउँ खण्डहर बनेका छन् । जतासुकै एक्लोपनाले मान्छेलाई मारेको छ । धेरै मान्छे सुख खोज्ने नाममा सहर पसेका छन् तर उल्टै गरिबी र समस्यामा फसेका छन् । घरपरिवारका सदस्य सहरमा ल्याई छोडेर धेरै युवाहरू विदेशिन बाध्य छन् । यसले मान्छेका दिमागमा धेरै किसिमका ऐजेरूको विकास गरेको छ । मोबाइल मान्छेको सहारा बनेको छ भने फेसबुक, टिकटक, यूट्युवजस्ता सामाजिक सञ्जाल र भर्चुअल दुनिया दिनचर्या बन्न पुगेको छ । सामाजिक प्राणी मान्छे विस्तारै चरम असामाजिक हुँदै गएको र हाम्रो परिवेशले पनि त्यतै धकेल्दै छ । मान्छे मोबाइल र सामाजिक सञ्जालको कुलतमा फसेको छ जहाँबाट निस्किन निकै कठिन छ । अरू त अरू बालकालिका समेत एउटा कोठाभित्र सीमित छन् अनि मोबाइल, टिभीको अम्मली बनेका छन् । यसबाट अबको पुस्ता झन कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले सामाजिक सञ्जालका अनियन्त्रित विषयवस्तुको भासले अपत्यारिलो ढंगले जोखिममा धकेलेको देखिन्छ । अरूको राम्रो परिस्थितिका पोष्ट आफूसँग तुलना गर्नाले निराशा, विचलन, चिडचिडाहट बढाएको पाइन्छ । अरुभन्दा कमजोर अनि पछि परेको तीतो अनुभूतिसँगै फ्रस्टेसन बढेको देखिन्छ । यसकारण अनेकौं समस्या एवं मानसिक रोगबाट मान्छे पीडित हुन थालेका छन् । मनभित्र पैदा हुने कुण्ठा, इर्ष्या, द्वेष, बैमनस्यता आदिले बिस्तारबिस्तार गाँजेर डिप्रेसनमै धकेलेको देखिन्छ । त्यसमाथि सञ्चारमाध्यममा आउने अधिकांश समाचार नकारात्मक हुने हुँदा तिनले मान्छेमा पीडा र आक्रोशको गहिरो छाप छोडेको छ । समाजमा चलेको यस्तो खराब हावा मास हिस्टेरियाको रूप लिई डढेलोझैं सल्किँदैछ । यसले कस्तो रूप लिन्छ भन्न सकिँदैन । मान्छेलाई यो भासबाट उकासेर सकारात्मक एवं रचनात्मक जीवनको उज्यालो देखाउनु राज्यका लागि ठूलो चुनौतीको विषय छ ।

ठगेर चलेको अर्थव्यवस्था अनि बिचौलियाको रजगज

कुनै पनि मुलकको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाले त्यस देशका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । त्यसलाई राज्य प्रणालीको मजबुतीले थप सन्तुलित राख्न सघाउने हो । यद्यपि नेपालको विद्यमान अवस्था केलाउँदा यी सबै क्षेत्रमा जति प्रगति हुनुपर्थ्यो त्यति हुन सकेको देखिँदैन । नागरिकको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने अर्थतन्त्रको आधारभूत संरचना नै खलबलिएको देखिन्छ । कुनै बेला आत्मनिर्भर मुलुक अहिले आयात गरेर जीविका गर्ने अवस्थामा पुगेको छ । त्यसबाट संकलित करको भरमा राज्य चलेको छ । जग्गाजमिन बाँझै छ भने उब्जाउशील भूमि प्लटिङ गरेर घरहरू बनाइएका छन् र यो अनियन्त्रित छ । बैंक तथा वित्तीय संस्था त्यही जग्गाको व्यापार र अनुत्पादक क्षेत्रलाई पश्रय दिएर नाफाको होडमा छन् । केही उद्यम गर्छु भन्नेले सजिलै कर्जा पाउँदैन । कथंकदाचित पाइहालेमा नागरिकलाई चर्को व्याज र शुल्कको भारी बोकाएर करोड माथि तलब सुबिधा खाने गरेका छन् । यी विकृति र विसङ्गतिविरुद्ध राज्यले डण्डा चलाउन सकेकै छैन । आन्तरिक उत्पादन दिनप्रतिदिन घट्दै गएको छ । कृषिबाट औद्योगिकतर्फ प्रवेशै नगरी अर्थतन्त्रमा सेवा क्षेत्र कूल ग्राह्यस्थ उत्पादनको झण्डै दुई तिहाइ पुग्न लागेको देखिन्छ । अदक्ष श्रमशक्ति निर्यात गरेर प्राप्त विप्रेषणले देश चलेको छ । यो आय पनि आयातित सामानको उपभोगमा खर्च हुन्छ भने विप्रेषणले कसरी अर्थतन्त्र राम्रो गर्न सक्ला ।

अर्को डरलाग्दो पक्ष भनेको अर्थतन्त्र बिचौलियाको कब्जामा छ भने वितरण प्रणाली सीमित व्यापारिक घरानाको मुठ्ठीमा छ । उत्पादक र उपभोक्ता सँधै मारमा छन् तर बीचमा बसेर अवाञ्छित लाभ खाने मालामाल हुने गरेका छन् । यसको अर्थ ‘मार्केट फेलुअर’ को अवस्था छ । जुनसुकै कोणबाट विश्लेषण गरे पनि किसानबाहेक अरूको काम कमिसनको छ । राज्य सञ्चालन प्रक्रियामा देखिएको खराबीका कारण गरी खाने र निम्छरो वर्गको उठिबास लागेको देखिन्छ । अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेका साना तथा मझौला उद्योगहरू लगभग समाप्त हुनुले पनि यो कुरा पुष्टि गर्दछ । केही गर्छु भन्नेहरूलाई राज्य प्रणालीमा भएको विकारको ताडनाले हदैसम्म निराश पारेको देखिन्छ । हरेक मान्छेमा विचलनको भाव, आक्रोशको झिल्का र पीडाको राप छ । देशभित्रको नराम्रो अवस्था र रोजगारीको संकुचनले धेरै युवा पलायन भएका छन् । हो, जनगायक जेवी टुहुरेले कुनैबेला गाएजस्तो मुठ्ठीभरका लागि त स्वर्ग छ यो देश तर लाखौंका लागि उजाड छ !

कमजोरीमै चम्किने रहर र अनावश्यक लहर

आजको मान्छे कच्चा अनि कमजोर नैतिक धरातलमा उभिएको छ । अहिलेको परिवेश नै त्यस्तै छ । समाजिक रूपान्तरण जुन रूपमा हुनुपर्ने हो त्यसो हुन नसकेर नकारात्मकतातिर ढल्केको पाइन्छ । सामाजिक सञ्जालमा आउने नकारात्मक विषयवस्तु, टिकाटिप्पणी एवं प्रतिक्रियाबाट पनि यो कुरा सिद्द हुन्छ । जुन विषय नकारात्मक छ, अश्लील र अमर्यादित छ त्यसले चाहिनेभन्दा धेरै चर्चापरिचर्चा पाउने गरेको छ । केही सञ्चारमाध्यम जिम्मेवार भए पनि प्रकाशन तथा प्रशारणमा डिजिटल माध्यमको च्याउ उम्रेसरी विकासले समाजमा आतंक मच्चाएको देखिन्छ ।

सञ्चार माध्यममा डटकमदेखि भिडियोमा युट्यूबसम्म बढीभन्दा बढी लाइक, भ्यूज बटुल्ने र डलर कमाउने नाममा नकारात्मक एवं विकृतिविसङ्गतिलाई पश्रय दिने विषयवस्तु खोजीखोजी पस्किरहेका छन् । जसले मान्छेको न्यूनतम मानवअधिकार, गोपनियताका विषयको कुनै ख्याल नगरी समाजलाई फगत नङग्याएका छन् । मान्छे केवल प्रचार र पैसाको भोको छ । जतासुकै क्यामेरा तेर्स्यायो, खिच्यो, पोष्ट गर्यो । घरझगडादेखि चरम अश्लीलतासम्मका विषयवस्तुको प्रधानता छ । राज्यले नियमन गर्न नसक्दा धेरै मान्छेको बिल्लीबाठ भएको देखिन्छ । कसैले कारबाही गर्दैन भन्ने भएपछि मान्छेलाई नराम्रो काम गर्न अझ उत्प्रेरित गर्ने भै हाल्यो । यतिसम्म हेपाहा प्रवृत्ति छ कि विदेशका चुँसम्म नगरी आउने नेपाली हाम्रो विमानस्थलमा आइपुग्नासाथ जतासुकै थुक्छ । मनलाग्दी गर्छ । यसले हामी नैतिकता र अनुशासनको पाटोमा पूर्णरुपमा चुकेका छौं भन्ने मात्र औंल्याउँदैन, हेपाहा प्रवृत्तिमाथि राज्यले कडा कदम चाल्न नसकेको पनि प्रष्ट झल्को दिन्छ ।   

यतिमात्र होइन, अहिले हुण्डरीजस्तो बेलाबखत केही लहरहरू चल्ने गरेका छन् । त्यसमध्येको एउटा हो भाइरल हुने । राम्रो विषयले चर्चापरिचर्चा पाउनु स्वभाविक भएपनि कतिपय विषय यस्ता छन् जसले समाजमा सोचेभन्दा फरक छाप छोडिरहेका छन् । ए भाइरल पो भइने रहेछ भनेर नचाहिँदा हर्कत गर्ने, छाडापन भित्र्याउने, नचाहिँदा प्रयोग गर्ने चलन बढ्दो छ । यस्ता जोखिम उठाउँदा कतिको ज्यानैसमेत गएको छ । यस्ता गतिविधिको अनुशरणले समस्या थपेको छ । सबैभन्दा दुःखलाग्दो कुरा त के छ भने बालबालिकालाई समेत यस्तो भाइरल हुने मेसोमा फसाएर कलिलो दिमागमा अनावश्यक टर्चर दिने गरिएको देखिन्छ । यसबाट जोगाउन कहिँकतै सत्प्रयास भएको देखिन्न ।

त्यसैगरी गाली बेइज्जति र हुलहुज्जत गर्ने, हातपात एवं कुटपिट गर्ने र चर्कोचर्को स्वरले कुर्लनेको तारिफ गर्नेतर्फ समाज लागेको देखिन्छ । जसले चर्को बोल्यो, कन्दनीदेखिको बल निकालेर तथानाम र नानाभाती गर्‍यो त्यही समाजमा बहादुर र काविल दरिने अवस्था वास्तवमै असल र सभ्य समाजको विचलन हो भन्ने लाग्छ । यस्ता लहर चलाएर राज्यसत्तामा पुगेका नेताहरू पनि धेरै छन् । जे बीउ रोप्यो त्यही फल्छ भनेझैं यो गलत परिपाटी राजनीतिक आडमै सुरू भएर अन्यत्र सल्किन थालेको हो । अरू त अरू राज्य प्रणालीमा समेत एक अर्कालाई दोषारोपण गरेर आफू पानी माथिको ओभानो हुन खोज्ने परिपाटी छताछुल्लै छ । असल खराब के हो छुट्याउनेभन्दा गलत परिपाटीलाई पश्रय दिनतिर समाज लाग्दा यसले दीर्घकालमा निम्त्याउने परिणाम अझ भयावह हुने देखिन्छ । यस्ता गतिविधिलाई कतिपयले राज्यप्रतिको निराशा र वितृष्णाको उपज भनेपनि अराजकताले समाजलाई थप अराजक नै बनाउने निश्चित छ ।

देखासिकी र महत्वाकांक्षाले चुर्लुम्म

मान्छे तनावमा फस्नुको अर्को कारण देखासिकी र महत्वाकांछा पनि हो । आफ्नो हैसियत र अवस्थाको नजरअन्दाज गरी त्यसभन्दा अगाडि बढेर व्यवहार गर्नु गलत सँधै जोखिम हुनजान्छ । सामान्य अवस्थामा अनुमानले काम गरे पनि काबुभन्दा बाहिरको परिस्थितिमा यसले जीवनयापनलाई खल्बल्याउने अनि नकारात्मक असर पार्ने गर्दछ । आर्थिक स्तर कमजोर हुँदाहुँदै ऋण गरेरै भए पनि महँगा मोबाइल बोक्ने, महँगो गाडी, बाइक चढ्ने, फेसन गर्ने, घुमघाम तथा बाहिर गएर फजुल खर्च गर्ने, भोजभतेर गर्नेजस्ता क्रियाकलापले क्षणिक सुख दिए पनि त्यो उत्पादनको चक्रसँग नजोडिने हुँदा समस्या निम्त्याएकै देखिन्छ । यो व्यक्तिगत तहबाट राज्यको समस्या बन्न पुग्छ । यसरी देखासिकी गर्ने समाजको प्रवृत्तिलाई अर्थशास्त्रमा डेमोन्स्ट्रेसन इफेक्ट भनिन्छ ।

के सहर के गाउँ मान्छे आफ्नो स्रोतसाधनभन्दा कैयौं गुणा ऋण लिएर व्यवहार गर्न डराउँदैन । यसैकारण विकृतिविसङ्गति र भ्रष्टाचार समेत बढेको हुनसक्छ । हैसियतभन्दा कैयौं गुणा ऋणमा डुबेर जग्गाजमिन, घर, गाडीको पछाडि लागेको हाम्रो समाज त्यसैको पासोमा परेर जीवनभर पछुताउनुपर्ने अवस्थामा पुगेका कैयौं उदाहरण छन् । व्याजको पासोले एकातिर दैनिक जीवन यापन कठिनाइ हुन्छ भने अर्कोतर्फ बालबच्चालाई उचित शिक्षादीक्षा, पोषण, स्वास्थ्यको कमी हुनजान्छ । जीवन सँधै सरल रेखामा हिँड्दैन । समय र परिस्थिति सँधै एकनासको हुन्न । जब व्यवहार विग्रन्छ, मान्छे आर्थिक समस्यामा फस्छ, तब झैझगडा, तनाव, कलह हुँदै जीवनै अन्धकारतर्फ धकेलिने हुनसक्छ । त्यसैले सिरक जत्रो त त्यति नै खुट्टा पसार्नु र जीवनयापनको सरल बाटो रोज्नु नै श्रेयस्कर हुन्छ होला ।     

आफैंले सिर्जना गरेका समस्याभित्र रूम्मलिएको राज्य संयन्त्र

मान्छेलाई निराशामा धकेल्ने अर्को कारण राज्यमा रहेका विकार, बेथिति र बिसङ्गति हुन् । नीति, नियम र पद्दतिमा नचल्ने मुलुकमा जतासुकै भद्रगोल हुने हुँदा त्यसले सबैलाई पिर्ने गर्दछ । धेरैजसो पिछडिएका मुलकमा प्रणालीले काम गर्दैन । विज्ञ र सही मान्छे सही ठाउँमा पुगेर स्वतन्त्र ढंगले राज्यको हितमा काम गर्न पनि पाउँदैन । त्यस्ता मुलुकमा व्याप्त सदाचार र सुशासनको खडेरीले पाइलापाइलामा समस्या दिने गर्दछ । जसले तनावको सिर्जना मात्र गर्देन धेरै किसिमका रोगहरूलाई निम्तो समेत दिन्छ । यस्ता मुलुकमा व्यक्तिगत लहडमा काम हुने हुँदा एउटाको सनकका कारण देशले नै दुःख पाउने संभावना रहन्छ ।

बेथिति र विसङ्गति राज्य प्रणालीकै कारण जन्मिएका हुन्छन् । राज्यका निकायहरू एकअर्कामा दोषारोपण गरेर जिम्मेवारी पन्छाउने गर्दछन् । जिम्मेवारी लिने कोही हुँदैन । तथापि यथार्थ के हो भने धरैजसो समस्या नीतिगत कमजोरीका कारण उत्पन्न भएका हुन्छन् । एउटा व्यक्तिको आवेश र भावनाले नीतिको रूप धारण गर्नसक्छ । नीति निर्माणको तहमा सही मान्छेले स्थान नपाएको हुनसक्छ । समयमा समस्याको पहिचान र सम्बोधन नगर्ने अनि प्रभावकारी एवं सिलसिलावद्घ तरिकाले नीति, योजना लागू गर्न नसक्दा त्यही विषय कालान्तरमा समस्या बनेर सताइरहेको देखिन्छ ।

हाम्रो मुलुकमा पनि शोध, अनुसन्धान र दीर्घकालीन सोंचविना गरिएका अव्यवस्थित सहरीकरण, निर्माण, उद्योग, लाइसेन्सिङ, नीति, निर्माणजस्ता विषय नै समस्याको ऐजेरू बनेको विदितै छ । राज्यले नै कुनै बेला गरेका गल्ती र कमीकमजोरीका कारण समाजले लामो समय त्यसको मूल्य चुकाउनुपर्ने अवस्था छ । त्यसैलाई सही अवस्थामा ल्याउने राज्यको ठूलो स्रोधसाधन र समय खेर जान्छ । तीतो यथार्थ के छ भने आफैंले सिर्जना गरेका समस्याको चक्रव्यूहमा फसेर हामी समेत सिद्धिएका छौं अर्थात् आफैंले खनेको खाडलमा आफैं फस्ने काम भएको देखिन्छ ! जान्नेलाई नीति, नियम, कानून, योजना सबै चमत्कारका औजार हुन्, नजान्नेलाई त्यही भद्रगोलको साधन । त्यसैले जस्ले राज्यको उपल्लो एवं प्रभाव पार्ने तहमा नेतृत्व लिन्छ, उसले यो कुरा हम्मेसा ख्याल राख्नुपर्दछ कि कुनै पनि मुलुकको भाग्य र भविष्य असल एवं कुशल राज्य प्रणालीमा निर्भर रहन्छ र कुशल राज्यप्रणाली आदर्श नीतिनिर्माण, व्यवस्थापन र दीर्घकालीन सोंचमा भर पर्दछ ।

प्रशासन डटकममा गएर पनि यो लेख पढ्न सक्नुहुनेछः

https://www.prasashan.com/2023/01/29/396465/?fbclid=IwAR34X38H4ZPzwO2gfcqsqmYLCffYclT_h5lOcdLMDIJzAkm-v8_prDnnfTU

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००