अलबिदा ! महापुरूष सत्यमोहन...

अलबिदा ! महापुरूष सत्यमोहन...

असोज ३०, २०७९ । संस्कृतिविद् एवम् वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको भौतिक शरीर अब हामी सामु रहेन । डेङ्गुको संक्रमणका कारण अस्पतालमा उपचाररत जोशीले १०३ वर्षको उमेरमा २०७९ असोज ३० गते संसारबाट सदाका लागि विश्राम लिनुभएको हो ।

वि.सं. १९७७ वैशाख ३० गते बाबु शंकरराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा ललितपुरमा जन्मनुभएका उहाँले बाँचुञ्जेल सक्रिय रही नेपाली पहिचानका विभिन्न क्षेत्रमा आजीवन खोज तथा अनुसन्धानमा आफ्नो जीवन समर्पित गर्नुभयो ।  जोशीको निधनसँगै नेपाली वाङ्मय क्षेत्रमा एक युगको अन्त्य भएको ठानिएको छ ।

सत्यमोहन जोशीको पार्थिव शरीर । स्रोतः सेतोपाटी

 

अध्ययन र जागिरे जीवन

सत्यमोहन जोशीको औपचारिक अध्ययन बीएसम्मको रहेको छ । जोशीले त्रिचन्द्र कलेजबाट आफ्नो अध्ययन पूरा गर्नुभएको हो । पछि उहाँलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधी समेत प्रदान गरेको थियो ।

धेरै क्षेत्रमा हात हालेर सबैतिर उत्तिकै सफलता चुम्नुभएका सत्यमोहनले जागिरे जीवनको अनुभव समेत संगाल्नुभएको थियो । उहाँ वि. सं २०१५/१६ ताका विश्वेश्वर प्रसाद कोइराला सरकारमा छँदा पुरातत्त्व र संस्कृति विभागका निर्देशक हुनुभएको थियो । नन् गजेटेड डिट्ठा अर्थात् खरदार सरहको पदमा जागिर खाँदै गरेको अवस्थामा अनपेक्षित रूपमा पाएको जागिरले आफैं आश्चर्षचिकत भएको समेत उहाँले अन्तर्वार्ताहरूमा बताउनुभएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा रहेर समेत देशलाई महत्वपूर्ण योगदान गर्नुभयो ।

कर्मले दिलाएको ख्याति एवम् लोभलाग्दो जीवन

बहुआयामिक प्रतिभाका धनी सत्यमोहन जोशी अत्यन्तै ओजस्वी लाग्छ । जीवनको उत्तरार्द्धतिर उहाँको सामाजिक जीवन निकै सम्मानित र गौरवमय देखिन्छ । उहाँलाई कुनै एक चिनारीले मात्र पूर्ण गर्न सक्दैन ।

आफू बाँच्नुको मूल मर्म सक्रिय जीवनलाई ठान्ने र केही न केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएका कारण धेरैले उहाँलाई अरूभन्दा फरक मान्छेको रूपमा चिन्ने गरेका छन् । उहाँको निधनपछि बीबीसी नेपाली सेवाले यस्तो विम्ब लेखेको छ ‘चिन्ता नगर्ने चिन्तन गर्ने जिज्ञासु शताब्दी पुरूष’ ।

प्रखर र उम्दा कामहरूको सुगन्ध फैलिएपछि जोशीलाई सामाजिक मानप्रतिष्ठा, सम्मान तथा पुरस्कारको कमी भएन । नेपाली वाङ्मय र संस्कृतिको क्षेत्रमा योगदान गरेवापत् तीन पटक मदन पुरस्कार पाउने जोशी एक्लो श्रष्टा हुनुहुन्छ । ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा उहाँलाई मदन पुरस्कार दिलाएका थिए ।

पछिल्लो समय उहाँलाई राज्य तथा सामाजिक परिवेशबाट धेरै सम्मान मिलिरह्यो । जोशीभन्दा पहिला राजपरिवारबाहेक कुनै पनि व्यक्तिको जीवित हुँदै हुलाक टिकटमा तस्बीर छापिएको नभए पनि उहाँलाई राज्यले सम्मान गरेर त्यो अवशर दियो । वि.सं २०७७ साल माघ २० गते उहाँको तस्बीर अंकित हुलाक टिकट राष्ट्रपतिबाट जारी भएको थियो ।

एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय अङ्कित चाँदीको सिक्का पनि निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

त्यसैगरी उहाँलाई सुप्रबल गोरखा दक्षिणबाहु, उज्जवल कीर्तिमान राष्ट्रदीपलगायतबाट सम्मान गरिएको छ । वि.सं २०६९ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएका जोशीको पुरानो घरमा लोक साहित्य परिषद्को भवन निर्माण गरिएको छ । जहाँ उहाँले प्राप्त गरेका अनगिन्ती सम्मानहरू, उहाँले सङ्कलन गरेका हुलाक टिकट तथा सिक्का र विभिन्न पुस्तकहरू राखिएका छन् । २०७९ को संविधान दिवसको अवसरमा सरकाले जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरेको थियो ।

सत्यमोहन जोशीका कृतिहरू

सत्यमोहन जोशी नेपाललाई धेरै नै माया गर्ने सर्जकको रूपमा परिचित हुनुहुन्छ । उहाँका संस्कृति तथा साहित्यसँग सम्बन्धित ४ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । त्यसमध्ये  अधिकांश पुस्तकहरू संस्कृतिसँग सम्बन्धित एवम् शोध तथा अनुसन्धानमा आधारित रहेका छन् ।

शोध र अनुसन्धानका भोका एवम् अत्यन्त जिज्ञासु जोशी खस सभ्यताको मूल खोज्दै कर्णाली पुग्नुभयो । पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीको देश न्यूजिल्याण्ड पुगेर सगरमाथाको पवक्ता बन्नुभयो । चीन पुगेर नेपालको राष्ट्रिय विभूति अरनिकोबारे थप खोजी र दिक्षित गर्नुभयो । विभिन्न जातजाति, भाषाभाषी एवम् उनीहरूका पहिचानलाई शब्दकोषमा तथा सिर्जनामा सजाउनुभयो । नेपालको नक्सादेखि राष्ट्रियगान अनि पूजा कोठादेखि रङ्गमञ्चसम्म उभिएर देशलाई महत्वपूर्ण योगदान गर्नुभयो ।

जोशीका साहित्यतर्फ दुई वटा काव्य, पाँच वटा कथा सङ्ग्रह र केही नाटकहरू प्रकाशित छन् । जोशीले नेवारी भाषाको श्रीवृद्धिमा अझ धेरै योगदान गर्नुभएको छ । उहाँले चीन पुगेर नेपाली भाषा पढाउने काम समेत गर्नुभएको थियो । पर्यटकका रूपमा २०१५ सालमा एकपटक र शिक्षकका रूपमा चार पटकको चीन बसाइँमा अरनिकोबारे पर्याप्त जानकारी संकलन गरेर ‘कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित गर्नुभयो । उक्त कृति २०४४ सालमा अङ्ग्रेजी भाषामा अनुवाद समेत भएको थियो । यसअघि आफ्ना महान कलाकारबारे देश स्वयं त्यति धेरै जानकार नरहेको अवस्थामा सो अध्ययनपछि अरनिकोबारे धेरै कुराहरू पटाक्षेप भएका थिए ।

संस्कृतिविद् जोशीको संयोजकत्व र सक्रियतामा उतिबेला नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले धेरै महत्वपूर्ण र नतिजामूलक काम गरेको पाइन्छ । उहाँको समयमा प्रज्ञाप्रतिष्ठानले चौध भाषाको पर्यायवाची कोश प्रकाशन गरेको थियो । त्यसमा नेपाली भाषालगायत शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवाः, चेपाङ, राजवंशीका पर्यायवाची शब्द थिए । २०२८ सालसम्मको तथ्याङ्क समेटेर विदेशीहरूले नेपालका बारेमा लेखेका किताब एवम् लेखरचनाहरूको ग्रन्थसूची समेत प्रज्ञाप्रतिष्ठानबाट तयार पारिएको थियो । भागवण्डाको राजनीति तथा अन्य विविध कारणले सत्यमोहन जोशीजस्ता प्राज्ञले सरकारी स्तरको सर्वोच्च साहित्यिक संस्था प्रतिष्ठानको प्रमुख हुन नसके पनि नेपाली भाषा, संस्कृति तथा साहित्यको श्रीवृद्धिमा उहाँले गरेको योगदान सँदैव सुनौला अक्षरले लेखिनेछ ।

मदन पुरस्कार प्राप्त महत्वपूर्ण कृतिहरु

  • हाम्रो लोक संस्कृति
  • नेपाली राष्ट्रिय मुद्रा
  • कर्णाली लोक संस्कृति

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । कामको सिलसिलामा जाँदा औंलोको शिकार भएर तनहुमा मृत्युशैयामा छटपटाइरहेको समयमा जुरेली चराबाट बाँच्नको लागि प्रेरणा लिएको गिरीश गिरीद्वारा सम्पादित ‘सत्यमोहन’ मा समेत जोशीले उल्लेख गर्नुभएको छ । त्यो रहेछ ‘सादा जीवन उच्च विचार’ को प्रेरणा । जोशीको भौतिक शरीर हामीमाझ नरहे पनि त्यही फराकिलो योगदान, कामप्रतिको समर्पण, बाँच्ने सामान्य शैलीले उहाँलाई सँधैभरी नेपाली सांस्कृतिक आकाशको चम्किलो नक्षत्रको रूपमा जाजल्यमान गराइरहने छ ।

अलबिदा ! महान व्यक्तित्व सत्यमोहन !

शोकाकूल परिवारजनः सत्यमोहन जोशीकी जीवन सङ्गिनी राधादेवीलगायत परिवारका सदस्य भावविह्वल मुद्रामा । तस्वीर साभारः सेतोपाटी
श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा तथा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन । तस्वीर साभारः सेतोपाटी

२०७९ असोज ३० गते आइतबार

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००