पैसा: इतिहासदेखि आधुनिक अर्थतन्त्रसम्म

पैसा: इतिहासदेखि आधुनिक अर्थतन्त्रसम्म

हाम्रो दैनिक जीवनमा चलनचल्तीमा प्रयोग गर्ने पैसा (money) को बारेमा तपाईँ हामीले धेरथोर जानकारी त अवश्यै राखेकै हुन्छौं । तर यसबारे धेरैले गहिरिएर सोचेका नहुन सक्छौं । पैसाको विषयमा चासो राख्ने भने बुझ्नुपर्ने सवाल निकै नै गहिरो पनि छ । सामान्यतया पैसा भनेको मूल्यको प्रणाली हो जसले अर्थतन्त्रमा वस्तु तथा सेवाको आदानप्रदानलाई सहयोग पुर्‍याउँदछ । यसको प्रयोगले खरिदकर्ता एवं विक्रेतालाई लेनदेन गर्दा वस्तु विनिमय प्रणालीभन्दा लागत कम गर्दछ । मुख्यतया पैसाले मूल्य सञ्चय, विनिमय र मूल्यको मापनको काम गर्दछ । यहाँ पैसालाई कुनै एउटा देशको मुद्रामा मात्र संकुचित नगरी कमोडिटी मनी, फियाट मनी, बैंक मनीलगायत बृहत् अवधारणालाई समेट्न खोजिएको छ ।  

पैसाको उत्पत्ति हुनुभन्दा अघि कस्तो थियो संसार ?

संसारमा पैसाको प्रचलन हुनुभन्दा अगाडिको समाजको चित्र विचित्रको थियो । त्यसबेला मान्छेहरु आफूसँग भएको चीजबस्तु बोकेर आफूलाई चाहिएको बस्तु खोज्दै हिड्ने गर्दथे । उदाहरणको लागि कसैलाई धान दिएर गहुँ साट्नु परेमा धान बोकेर गहुँ हुनेको खोजीमा जानुपर्दथ्यो । यसरी हिँड्दा दोहोरो संयोग मिलेमा मात्र सरसामान साट्न सकिन्थ्यो । यसको मतलब धान दिनेलाई गहुँ चाहिएको होस् र गहुँ हुनेलाई धान । यसलाई अर्थशास्त्रमा वस्तु विनिमय प्रणाली (Barter System) भनिन्छ । वस्तु विनिमय प्रणालीमा कुन वस्तुको वास्तविक मूल्य कति भन्ने बार्गेनिङ क्षमताले निश्चय गर्ने हुनाले यो वैज्ञानिक प्रणाली हो भन्न सकिन्न । यस्तो प्रणाली गाह्रो हुने भएपछि माटो, छाला, पात, हड्डी, काठ, धातुलगायतका विभिन्न वस्तुहरुलाई मान्छेले मुद्राको रुपमा प्रयोग गर्न थालेको इतिहास छ । आरग्नेसियन पूरातात्विक विवरणअनुसार ३० हजार वर्ष पूरानो लेखाङ्ककन प्रणालीको समेत केही तथ्य फेला परेको छ । पैसाको प्रयोगको विषय समयसापेक्ष परिस्कृत र परिमार्जित हुँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । 

विश्वमा पहिलो पटक पैसाको प्रयोग

मान्छेको उत्पत्ति र समाजको पादुर्भावसँग पैसाको क्रमिक विकास र प्रयोग पनि जोडिएको छ । संसारका विभिन्न ठाउँमा मानिसले विभिन्न किसिमले आर्थिक गतिविधि गर्ने गरे पनि पैसाको औपचारिक प्रयोग भने चीनबाट भएको देखिन्छ । मेसोपोटामिया सभ्यता अनुसार झण्डै इशापूर्व ४००० मा मान्छेहरुले माटोका ट्यावलेट बनाई वस्तु विनिमयको साधनको रुपमा प्रयोग गरेका देखिन्छ । त्यसैगरी इशापूर्व १००० तिर एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो भएकोले चीनमा शंखेकिराका खबटा एवं कौडाहरु मुद्राको रुपमा प्रयोग भएको उल्लेख गरिएको छ । इशापूर्व ६०० तिर पहिलोपटक सुन र चाँदीका सिक्काहरु अहिलेको ग्रीस तथा टर्कीमा चलनमा आएको भेटिन्छ । संसारको सबैभन्दा पहिलो कागजी मुद्रा भने चीनमा टाङ वंशको पालामा (618-907CE) प्रयोगमा आएको अनुमान गरिएको छ । तर यूरोपमा भने सोह्रौँ सताव्दीमा मात्र कागजी नोटको व्यापकता हुन पुगेको देखिन्छ ।

अहिले विश्वका धेरैजसो देशले आफ्नै मुद्रा चलाउने गर्दछन् । विश्वका १९७ देशमा १६४ भन्दा बढी आधिकारिक राष्ट्रिय मुद्राहरु चलनचल्तीमा रहेका छन् ।

अहिले विश्वका धेरैजसो देशले आफ्नै मुद्रा चलाउने गर्दछन् । विश्वका १९७ देशमा १६४ भन्दा बढी आधिकारिक राष्ट्रिय मुद्राहरु चलनचल्तीमा रहेका छन् । जस्तै नेपालको रूपैयाँ, अमेरिकाको अमेरिकन डलर, बेलायतको पाउण्ड स्टरलिङ्ग, चीनको युआन, यूरोपेली देशहरुमा यूरो आदि । संसारका पुराना मुद्राहरु ब्रिटिस पाउण्ड, रसियन रूबल, सर्बियन डिनार, अमेरिकी डलर, हाइटियन गर्ड, डोमिनिकन पेसो, जापानिज येन आदि अझै पनि सम्बन्धित मुलुकहरुमा प्रयोगमै रहेका छन् । 

नेपालमा पैसा/मुद्राको चलन

नेपालमा मुद्राको चलन लिच्छवीकालदेखि नै रहेको पाइन्छ । लिच्छवी राजा मानदेवले सर्वप्रथम सिक्कालाई चलनचल्तीमा ल्याएका थिए जसलाई मानाङ्क भनिन्थ्यो । मल्लकामा राजा महिन्द्र मल्लले चाँदीको मुद्रा प्रचलनमा ल्याए । यसैगरी विभिन्न समयमा शासकहरुले मुद्रा प्रचलन गराए । नेपालको मुद्रा रुपियाँ हो जसलाई वि.सं २००९ मा नेपाली रुपैयाँको नाममा चलाउने व्यवस्था गरिएको थियो । रुपैयाँ रुप् बाट बनेको शब्द हो जसको अर्थ चाँदी हुन्छ । 'रुप्यकम' भन्नाले संस्कृतमा चाँदीको सिक्का भन्ने अर्थ हुन्छ । नेपालमा कागजी नोट प्रचलनमा आएको भने ८ दशक पनि पुगेको छैन ।

वि.सं २००२ साल असोज १ गतेदेखि जुद्धशमसेरले सदर मुलुकीखानाबाट १, ५, १० र १०० का नोटहरू प्रकाशनमा ल्याएका थिए । वि.सं २०१३ वैशाख १४ गते नेपालको केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि मुद्रा व्यवस्थापन थप सहज बनेको हो । वि.सं २०२६ साल वैशाख १४ गते १००० को नोट र २०२७ साल जेठ ३० गते ५ सयको नोट चलनमा ल्याइएको थियो । हाल नेपालमा ११ प्रकारका नोटहरु रहेकोमा ७ प्रकारका नोटहरुमात्र राष्ट्र बैंकले प्रायजसो चलनचल्तीमा पठाउने गरेको छ ।  

नोटमा गभर्नरले हस्ताक्षर गर्ने विश्वव्यापी चलन रहेको पाइन्छ । नेपालको पहिलो गभर्नर हिमालयन शमसेर राणा हुन् । नेपालको हकमा खजाञ्ची जनकराज पण्डितले सर्वप्रथम नोटमा हस्ताक्षर गरेको समेत ३ खजाञ्ची, एक कायममुकायम गभर्नर र १७ गभर्नरसहित अहिलेसम्म २१ जना गभर्नरहरुले नोटमा हस्ताक्षर गरेका छन् । सरकारको ट्रेजरर एवं पैसाको सुरक्षणको साक्षी भएको कारण गभर्नरले नोटमा हस्ताक्षर गर्ने गर्दछन् । अन्य देशहरू  जस्तै नेपालको पैसा पनि जमानत प्राप्त छ । जति मूल्यको नोट छाप्नुपर्ने हो त्यति बराबरको सुरक्षण राखिने भएकोले यस रुपैयाँको 'भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त पाइनेछ' भन्ने वाक्यसमेत नोटमा नै लेखिएको हुन्छ ।

अर्थतन्त्रमा पैसाको व्यवस्थापन कसले गर्छ ? 

जुनसुकै देशमा मुद्राको आपूर्ति तथा नियमन गर्ने काम त्यस देशको केन्द्रीय बैंकले गर्ने गर्दछ । बजारमा पैसाको मागको आँकलन गरी कति पैसा पठाउने भन्ने निर्णय गर्ने नेपालको मौद्रिक निकाय राष्ट्र बैंक हो । सरकारले बजेट ल्याएपछि राष्ट्र बैंकले आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वलाई सघाउने एवं बजार मूल्यलाई सीमाभित्र राख्ने उद्देश्यका साथ प्रत्येक वर्ष मौद्रिक नीति तय गर्दछ । यो नीतिले नै वित्तीय प्रणालीको व्यवस्थापन गर्नेदेखि बजारमा कति पैसा राख्ने भन्ने निक्र्योल गर्ने हो । यसलाई अर्थशास्त्रमा मुद्रा प्रदायको व्यवस्थापन (Money supply management)  भन्ने गरिन्छ । सरकारी बजेट खर्चको माध्यमबाट पनि बजारमा पैसा आउने गर्दछ । त्यसैले राष्ट्र बैंकले बजारमा पैसा पठाउने मात्र गर्दैन, बढी पैसा भएको अवस्थामा बैंकहरुमार्फत् विभिन्न उपकरणहरुको प्रयोग गरेर खिच्ने समेत गर्दछ । यसरी पैसाको माग र आपूर्तिका आधारमा व्याजदर निर्धारण हुने गर्दछ । यदि बजारमा पैसा (तरलता) धेरै तर माग कम भएको अवस्थामा व्याजदर घट्ने गर्दछ भने पैसा थोरै तर माग बढी भएको बेला व्याजदर बढ्ने गर्दछ । यसलाई सन्तुलन गर्न सकेमात्र अर्थतन्त्र राम्ररी अघि बढ्न सक्दछ । अहिले बजारमा ६ सय अर्ब हाराहारीमा नेपाली नोट रहेको अनुमान छ । यसबारे समय-समयमा राष्ट्र बैंकले सार्वजनिक रूपमै सूचना गरेर जानकारी गराउने गदर्छ । जसरी तपाईँ हाम्रो गोजीमा धेरै पैसा हुँदा त्यसको मतलब कम हुन्छ र कसैले माग्यो भने पनि धेरै रकम दिन पनि पछि पर्दैनौं त्यसको ठीक उल्टो हाम्रो गोजीमा थोरै पैसा हुँदा त्यसको धेरै लोभ लाग्छ र सकिन्छ भनेर जोगाउँछौँ । यसको अर्थ मान्छेको हातहातमा पैसा धेरै भए त्यसको भाउ कम हुन्छ भने थोरै पैसा भए भाउ बढी हुन्छ । अर्थतन्त्रमा पनि यस्तै हुन्छ । त्यसैले तपाईँ हाम्रो गोजीमा धेरै पैसा पठाउने या गोजीबाट पैसा लगेर गरिब पारिदिने त राष्ट्र बैंक पो रहेछ । छैन त गज्जब?

अर्थतन्त्रमा पैसाले कसरी काम गर्दछ?

पैसा वास्तवमा वस्तु तथा सेवाको विनिमयको सजिलो माध्यम भए तापनि आधुनिक समाजमा यसको अधिक महत्त्व रहेको देखिन्छ । बस्तु तथा सेवाको उत्पादन, आपूर्ति, खरिद, विक्री उपभोगमा पैसा अत्यावश्यकीय साधनको रुपमा लिने गरिन्छ । गाउँले अर्थतन्त्र (Rural Economy) मा आर्थिक गतिविधि धेरै विस्तार नभैसकेको एवं व्यापारिकभन्दा निर्वाहमुखी खेती प्रणाली अपनाइने हुँदा पैसाको उतिसारो प्रयोग नभए पनि सहरी अर्थतन्त्र (Urban Economy) मा अधिक प्रयोग छ । दैनिक जीवनमा प्रयोग हुने नाना, छाना र खानादेखि उत्पादनमा प्रयोग हुने श्रम तथा पूँजीको खरिदमा समेत पैसाको भूमिका हुने हुँदा पूँजीगत अर्थतन्त्रमा यसलाई निकै उपयोगी साधनको रुपमा लिने गरिन्छ । त्यसैले सबै यसकै पछि दगुरेको पाइन्छ । तर वास्तविकतामा माथि भनिएजस्तै पैसा अर्थतन्त्र चलायमान गराउने एउटा साधन (Means) मात्र हो, साध्य (Ends) होइन । यसबारे एउटा उदाहरणबाट स्पष्ट हुन सकिन्छ ।

एउटा होटलवाला धेरै दिनदेखि कोही नआएकोले आम्दानी नभएर बिजोग भएको हुन्छ । सामानको पैसा तिर्न नसकेर उसलाई बजारले पत्याउनै छोडिसकेको अवस्थामा संयोगबस एउटा पर्यटक आएर ५००० रुपैयाँ तिरेर कोठा लिन्छ । होटलवाला हतारहतार मासु पसलमा गएर केही उधारो चुक्ता गर्छ र भन्छ 'मासु पठाइदिनुपर्‍यो होटलमा, गेष्ट आएका छन् ।' पुरानो बाँकी उठेपछि पसलवाला खुसी हुँदै मासु दिन्छ । पशुपन्छीलाई खुवाएको दानाको पैसा तिर्न नसकेर प्याकप्याक भएको मासु पसले होटलवाला जानासाथ दाना साहुकहाँ गएर पैसा तिर्छ अनि भन्छ 'लहै दाना पठाइदिइहाल्नुपर्‍यो ।' कहीँबाट पैसा प्राप्त नभएकोले श्रमिकलाई ज्याला दिन नसकेकोले दाना साहु फ्याक्ट्री बन्द गरेर बसेको हुन्छ । पैसा आउनासाथ श्रमिक बोलाएर पैसा दिन्छ र भन्छ 'ल भएको दाना पठाइदिनु र पुनः फ्याक्ट्री चलाएर दाना उत्पादन सुरु गर्नु ।' लामो समयपछि ज्याला पाएका श्रमिकहरु होटलमा जान्छन् र मासुलगायतको खानेकुरा उपभोग गरी पैसा तिरेर फर्कन्छन् । श्रमिकहरु होटलबाट फर्कनासाथ कोठा बुक गर्ने पर्यटक आइपुग्छ र भन्छ 'साहुजी आज अन्यत्रै जानुपर्नेभो, होटलमा नबस्ने भएँ, मेरो पैसा फिर्ता दिनुस् ।' होटलवालाले हुन्छ भन्दै भर्खर कामदारहरुले तिरेको पैसा झिकेर हजार रुपैयाँ पर्यटकलाई थमाउँछ । यो उदाहरणमा पर्यटकले सुरुमा दिएको १ हजार रुपैयाँ होटलवाला, मासु पसले, दाना साहु, श्रमिक हुँदै घुमेर जस्ताको तस्तै पुनः पर्यटककै हातमा पुग्छ । उक्त पैसाले कारोबार र विश्वास आर्जन मात्र गर्ने काम गर्दछ । यो उदाहरणबाट के स्पष्ट हुन्छ भने पैसा (मुद्रा)ले आर्थिक गतिविधिको चक्र पूरा गरी विश्वास सिर्जना गर्नेमात्र हो, सबैथोक होइन । त्यस सिलसिलामा धेरै पटक एक ठाउँबाट अर्को ठाउँमा प्रवाह भैसकेको हुन्छ  । यस क्रममा एउटाको खर्च अर्कोको आम्दानी हुन्छ । त्यसैले अर्थतन्त्रको समष्टिगत धारणाअनुसार कूल खर्च, कूल उत्पादन र कूल आम्दानी बराबरी हुन आउँछ । यो जटिल विषयलाई अर्थशास्त्रमा घरायसी, व्यवसायिक, सरकारी र बाह्य क्षेत्र समावेश गरी वस्तु तथा सेवाको प्रवाहलाई सर्कुलर फ्लो मोडेल बनाई सजिलो तरिकाले बुझ्न सकिन्छ । 

मुद्राको मूल्य र विश्वसनीयता

सुरुसुरुमा विश्वसनीयताको लागि मुद्राको मूल्यलाई सुन तथा चाँदीजस्ता मूल्यवान धातुमा सञ्चित तथा रुपान्तरित गरिन्थ्यो । जथाभावी मुद्रा आपूर्ति गरेर अर्थतन्त्रमा जोखिम ननिम्त्याइयोस भन्ने उद्देश्यले पैसा छपाई नियन्त्रण एवं विश्वासनीयता कायम गर्न जति मुद्रा छापिन्छ त्यति नै मूल्यको धातु सञ्चित गरेरमात्र मुद्रा निष्कासन गर्न सकिने व्यवस्था थियो । स्वर्णमानमा आधारित (गोल्ड स्ट्याण्डर्ड) यो व्यवस्था सन् १९७१ सम्म प्रचलनमा रह्यो । यसबीचमा सुनको सञ्चिति बढाउन सिभिल वार, विश्व युद्ध तथा विभिन्न समयमा मन्दीहरूमा मुद्रा र सुनको सम्बन्ध अस्थायी रुपमा टुटाइयो र मूल्य सञ्चयबिनै मुद्रा छापियो ।

सन् १९७१ को ब्रिटन उड्स पद्दति समाप्तिपछि जब अमेरिकाले सुनको मूल्यअनुसार अमेरिकी डलरको भाउ निर्धारण हुने परिपाटी हटायो तबदेखि मुद्राको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुन सुरू भयो । स्वर्णमान कायम गर्दा आवश्यक मात्रामा मुद्रा आपूर्ति गर्न नसकिएको जनाउँदै भियतनामलगायत विभिन्न युद्धमा बजेट बढाउन अमेरिकाले बिना मूल्यको पैसा छाप्न सुरु गरेको थियो । त्यसपछि विश्वमा मूल्यहीन मुद्रा ‘फिएट मनी’ को बर्चश्व बढ्दै गयो भने मुद्रा छपाईको खुकुलो व्यवस्थाले अर्थतन्त्रमा मुद्रा आपूृर्ति असन्तुलन भएसँगै विभिन्न उत्तारचढाव र संकट समेत निम्तिए । सन् १९७० को दशकको मन्दी, २००८–०९ को अमेरिकाबाट आएको वित्तीय संकट, यूरोजोन देखिएको ऋण संकटजस्ता परिदृष्य यसैका उपज हुन् । यस्तो संकटले कतिपय मुलुकका स्थानीय मुद्रा नै हराए भने कति मुलुकका मुद्रा संकटमा परे । अहिले पनि धेरैजसो मुलुकले आफ्नै मुद्रा चलाए पनि ति मुद्रा धेरै प्रभावशाली छैनन् । त्यसैले अमेरिकी डलरको प्रभाव विश्वव्यापी हुन पुगेको छ ।

एक्काइसौँ सताव्दीमा पैसा

पैसाको परिभाषा अब सिक्का र नोटको संकुचित घेरामा मात्र सीमित छैन । आधुनिक विश्वमा यसको सरज, सहज र विश्वव्यापी प्रयोगको सुनिश्चिततासँगै दायरा फराकिलो पारिएको छ । इन्टरनेट सञ्जालको विश्वव्यापी विकाससँगै पैसा तथा मुद्राका नयाँ स्वरुपहरुको विकास भएको छ । पहिलेका पुस्ता काम गरेपछि तलब, भत्ता, ज्यालास्वरुप नोट हात पर्दा खुसी हुने गर्दथे । तर अहिले मान्छेका हातमा नोट पर्दैन बरु मोबाइल वालेटमा टान्सफर एवं बैंकमा व्यालेन्स प्राप्त हुने गर्दछ । मोबाइल पेमेन्ट टेक्नोलोजीको विकाससँगै सरसामान एवं दैनिक उपभोग्य वस्तुको खरिदसमेत क्यूआर एवं  विद्युतीय भुक्तानी गरी रकम तिर्न सकिने भएको छ । यसका अतिरिक्त विश्वमा विटक्वाइन, ऐथेरियम, टेदर, मोनेरोजस्ता क्रिप्टो (भर्चुअल) मुद्रा एवं अन्य विविध जिजिटल मुद्राहरुको प्रयोग भैरहेको छ । यी मुद्राको सरकारले कुनै जमानत समेत गरेको हुँदैन । तिनीहरुको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुन्छ । अहिले दुनियाँ एक विश्व एक मुद्राको अभियानमा समेत जुटेको छ । प्रविधिको विकाससँगै भुक्तानी प्रणाली समेत अझ व्यापक र सहज हुँदै जाने सहजै अनुमान गर्न सकिन्छ । 

अमेरिकाका संस्थापक पिता बेन्जामिन फ्रयाङ्कलिनले भनेका छन् 'पैसाले मान्छेलाई न कहिल्यै खुसी बनाएको छ, न त दिने नै छ । यसको सुख दिने कुनै स्वभाव छैन । यो जति धेरै छ, उति धेरै चाहना हुन्छ ।'

अन्त्यमा, पैसा तथा मुद्राको यति जानकारी भइसकेपछि एउटा खुल्दुल्ली सबैलाई लाग्न सक्छ । धेरै मान्छेलाई मनमा लाग्ने प्रश्न के हो भने व्यापार व्यवसाय, राम्रो जागिर, वैदेशिक रोजगार आदिबाट धेरै पैसा कमाइयो भने पैसा राख्नु ठीक कि सम्पत्ति? यो अवस्था र व्यवस्थामा भर पर्दछ । साधारणतया पैसाभन्दा सम्पत्ति राख्नु नै उचित मानिन्छ । किनकि पैसाको मूल्य मुद्रास्फीति (मूल्यवृद्धि) का कारण कालान्तरमा घट्दै जान्छ । भोलिको सय रुपैयाँभन्दा आजको सय रुपैयाँ बलियो हुन्छ जसलाई मुद्राको समय मूल्य पनि भनिन्छ । तर सेयर, ऋण्पत्र, जग्गाजमिनजस्ता सम्पत्तिमा लगानी गरियो भने यसले दीर्घकालमा फाइदा दिने गर्दछ । आम्दानी गराउने भएकै कारण यिनीहरुलाई सम्पत्ति भनिएको हो । केही सम्पत्ति जस्तै सुनचाँदी, मुद्रा बजारका उपकरणहरु, बजारयोग्य प्रतिभूतिहरुलाई आवश्यक पर्दा तुरुन्तै नगदमा परिणत गर्न सकिन्छ । यस्ता सम्पत्तिलाई तरल सम्पत्ति भनिन्छ । बुद्धिमान मान्छेले सम्पत्तिको पोर्टफोलियो बनाएर केही प्रतिशत नगद, केही सम्पत्ति तरल र केही सम्पत्ति घरजग्गाजस्ता स्थिर सम्पत्तिमा लगानी गर्ने गर्दछन् । ति मान्छे धनी हुने गर्दछ । यसरी धनी हुने व्यक्तिलाई हाम्रो समाजले सुखी र ठूलो मान्छे ठान्ने गरे तापनि यसमा पूर्ण सत्यता भने छैन । किनकि अर्थशास्त्रले भन्छ कि मान्छेका इच्छा, चाहना असिमित हुन्छन्, एउटा पूरा भयो अर्को आइहाल्छ । त्यसैले अमेरिकाका संस्थापक पिता बेन्जामिन फ्रयाङ्कलिनले भनेका छन् 'पैसाले मान्छेलाई न कहिल्यै खुसी बनाएको छ, न त दिने नै छ । यसको सुख दिने कुनै स्वभाव छैन । यो जति धेरै छ, उति धेरै चाहना हुन्छ ।'  

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००