सरकारले अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा १८८ बुँदामा समेटिएको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
उक्त नीति तथा कार्यक्रममार्फत् खर्च कटाैतीका लागि सरकारले अनावश्यक कार्यालय एवं संघ संस्था खारेजी गर्ने प्रण गरेको छ भने अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, कमजोर राजस्व परिचालन तथा बाह्य क्षेत्रमा परेको चापलाई क्रमशः सम्बोधन गरिँदै लगिने भनेको छ ।
नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा धेरै विषयलाई सम्बोधन गर्ने प्रतिवद्वता गरेको छ । त्यसैगरी पूर्वाधार विकासमा पनि नीतिगत समस्याहरू सम्बोधन गर्ने एवं अघि नबढेका निजगढ बिमानस्थलजस्ता पूर्वाधारहरू अघि बढाउने योजना अघि सारेको छ ।
नीति तथा कार्यक्रमले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्नेदेखि मासिक ५० यूनिट विजुली निःशुल्क दिनेसम्मका कार्यक्रम अघि सारेको छ ।

नीति कार्यक्रममा समेटिएका केही महत्वपूर्ण बुँदाहरू यसप्रकार रहेका छन्ः
- निजी क्षेत्रको सहभागिता, चुस्त राजस्व प्रशासन, प्रभावकारी पुँजीगत खर्च, सार्वजनिक खर्चमा कटौती गरिने
- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने घोषणा
- बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य
- आविष्कार कोष स्थापना हुने, सबै स्थानीय तहमा एक स्मार्ट विद्यालय
- एकीकृत राष्ट्रिय गुरुयोजना तयार गरिने
- शहरमा मेट्रो अध्ययन, नदीमा जलमार्गको विकास
- काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गरिने
- खेर जाने बिजुली सहुलियत दरमा उद्योगलाई दिइने, वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिइने
- रुग्ण उद्योगबारे अध्ययन गर्न पुनः अर्को समिति, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने योजना
- वायु सेवा निगमको पुनर्संरचना गरिने
- उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव क्रमशः कार्यान्वयन गर्ने,
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा
- ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा
- जग्गा खरिद बिक्रीलाई पारदर्शी बनाउन जैविक जग्गा मूल्यांकन पद्धति विकास गरिने
- सिँचाइका लागि विद्युत महसुलमा छुट दिइने
- सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने, अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म
- निजामती अस्पताल र सबै सङ्घीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने
- २०८० को दशकलाई भ्रमण दशक मनाइने
- पुँजी बजारको संरचनागत सुधार गरिने
- स्वास्थ्यमा सरकारको योजनाः एक अस्पताल एक चिकित्सकदेखि एयर एम्बुलेन्स सञ्चालन गर्नेसम्म
- ढुंगा–गिट्टी निर्यातको सम्भावना अध्ययन गर्ने
- रासायनिक मल कारखाना खोल्न बहुवर्षीय योजना बनाइने
- २ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नति, थप ४ वटा क्रिकेट रंगशाला निर्माण गरिने
- शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने
फोटो साभारः गोरखापत्र
नीति तथा कार्यक्रमको पूर्ण पाठ यसैसाथ संलग्न गरिएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्